रुपन्देहीको तिलोत्तमामा मजदुरहरुबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। तिलोत्तमा ९ केवलानीमा मदिरा सेवन गरेका दुई पक्षका मजदुरहरु बीच सोमबार राति झडप हुँदा एक जनाको मृत्यु भएको हो भने अन्य तीन जना घाइते भएका हुन्। मकवानपुरे र नुवाकोटे समूहका नाममा झडप भएको स्थानीयले बताएका छन् ।
झडपका क्रममा चक्कु प्रहार गरी गम्भीर घाइते भएका हेटौंडा घर भई रुपन्देहीको मंगलापुरमा बस्दै आएका सुरेश स्याङताङको मृत्यु भएको हो । गम्भीर घाइते भएका स्याङताङको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।
झडपमा परी काठमाडौं महानगरपालिका-१ बस्ने विकास वाइवा, मकवानपुरका राजु तामाङ र मकवानपुरकै हस्तसिंह तामाङ गम्भीर घाइते भएका छन् । घाइतेहरुको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए। झडपमा संलग्न १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मकवानपुरे र नुवाकोटे समूहका नाममा झडप भएको स्थानीयले बताएका छन् । प्रहरीले भने यसबारेमा केही बताएको छैन । प्रहरी नायव उपरीक्षक थापाले घटनाको अनुसन्धान भैरहेको बताएका छन् ।