दार्चुलामा ७५ वर्षीया एक वृद्ध महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । मालिकार्जुन गाउँपालिका–७ टोपालीकी ७५ वर्षीया भागरथी चन्दको धारिलो हतियार चक्कु प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ । घरमा एक्लै बस्दै आएकी उनी आज घर नजिकै मृत अवस्थामा भेटिएको दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेले जानकारी दिए।
प्रहरीकाअनुसार, टोपालीस्थित घरमा एक्लै बस्दै आएकी ती महिला शनिबारदेखि सम्पर्कविहीन भएपछि आफन्तले आइतबार प्रहरीमा निवेदन दिएका थिए। ती बृद्धाको शव सोमबार घरभन्दा करिब दुई सय मिटर पर खोल्सामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए।
चन्दको घाँटी र छातीमा चक्कु प्रहार गरिएको छ ।उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ। उनको हत्या कसले र किन गरेको हो भन्ने बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।