मादक पदार्थ सेवन गरेर घरमा दु:ख दिएको भन्दै कंचनपुरमा भान्जा र भतिज मिलेर एक जनाको हत्या गरेका छन्। कञ्चनपुरको कृष्णपुर नगरपालिका- २ वाणीका ३५ वर्षीय कुवेर दमाई (हले)लाई उनकै भतिज र भान्जाले हत्या गरेका हुन्।
कुवेर दमाईको हत्या गरेको आरोपमा उनकै २२ वर्षीय भतिज अजय दमाई र २८ वर्षीय भान्जा हरिश दमाइलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले जानकारी दिए। उनका अनुसार प्रारम्भिक सोधपुछका उनीहरूले अपराध स्वीकारेका छन्।
मादक पदार्थ पिएर घरमा आमाबुबालाई दुःख दिने गरेका कुबेर दमाइलाई बन्द नदीको किनारमा लगेर सम्झाई बुझाइ गर्दा झगडा भएको र सोही क्रममा आफूहरुले लातिमुक्का र ढुंगाले हानेर कुबेर दमाइको हत्या गरेको उनीहरुले प्रहरीलाई साबिती बयान दिएका छन। उनीहरुले साउन १५ गते राति १० बजे कुबेर दमाइको हत्या गरे पछि त्यहीं खाल्टो खनेर गाडेको पनि प्रहरी समक्ष बताएका छन्। हाल प्रहरीको हिरासतमा रहेका उनीहरुले दिएको जानकारीका आधारमा प्रहरीले घटनास्थलबाट करिब ५० मिटर पर चप्पल र सर्ट बरामद गरेको छ।
बेला बेलामा १/२ दिन घरबाट हराउने गरेका कुबेर दमाई साउन १५ देखि बेपत्ता थिए र उनको शब शुक्रबार घरनजिकै खाल्डोमा आधा सडेगलेको अवस्थामा भेटिएको थियो।