कास्कीको रुपा गाउँपालिकामा आइतबार बिहान मोटरसाइकललाई बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने पछाडी बस्ने एक जना गम्भीर घाइते छन् ।
पोखराबाट लमजुङको बेशीँशहर जाँदै गरेको ग १ प ८६७६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ग १५ प ८४८३ नम्बरको मोटरसाइकललाई रुपा गाउपालिकाको पोल्याङमा ठक्कर दिँदा मोटरसाइकल चालक २३ वर्षीय विवेक विकको मृत्यु भएको हो । दुर्घटनामा घाइते दुवैको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारार्थ ल्याइएकोमा विवेकको उपचार क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । उनी लमजुङको मध्यनेपाल ६, भोर्लेटार हुन् ।
मोटरसाइकलमा सवार जितेन्द्र विक गम्भीर घाइते छन् । विवेक र जितेन्द्र नातामा दाजुभाइ हुन् । प्रहरीले बसचालक विशाल गुरुङलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।