अनधिकृत रुपमा अर्काको बैंक खातामा पहुँच बनाएर रकम ठगी गरेको आरोपमा प्रहरीले बैंकका नक्कली कर्मचारीलाई पक्राउ गरेको छ। आफुलाई बैंकको कर्मचारी भएको जिकिर गर्दै अर्काको बैंक खातामा पहुँच पुर्याएर रकम ठगी गरेको आरोपमा प्रहरीले मोरङको धनपालथान गाउँपालिका वडा नम्बर १ का २१ वर्षीय महमद मोजाहीद मियालाई पक्राउ गरेको हो।
अभियुक्त मियाले आफु विभिन्न बैङ्कको आधिकारिक कर्मचारी हुँ भन्दै अनलाइनमार्फत बिभिन्न व्यक्तिको बैंक खातामा पहुँच बनाएर ११ लाख १२ हजार आठसय ४० रुपियाँ ठगी गरेको आरोप लगाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।
मियाले पीडितसँग फोन सम्पर्क गरी बैङ्क खातासँग वालेट आइडी लिङ्कअप, खाता नवीकरण, केवाईसी फर्म अपडेट, स्टेटमेन्ट भेरिफाइ, सेक्युअर ट्रान्सफर चार्ज नलाग्ने र राम्रो बोनस प्राप्त हुने भनेर पीडितको खातामा पहुँच पुर्याएर ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीले खातावालाको ओटीपी कोडसमेत मागेर लिई खाता तथा वालेटमा रकम रकमान्तर गरेको देखिएको प्रहरीले बताएको छ।
अभियुक्त मियालाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकुमामा पठाइएको प्रहरीले जानकारी दिएको छ।