खसी चोरी गरेको आरोपमा लमजुङबाट पक्राउ परे कालु गुरुङ

खसी चोरी गरेको आरोपमा लमजुङबाट पक्राउ परे कालु गुरुङ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २६ असार २०८०
  • 2.9K
    Shares

खसी चोरी गरेको आरोपमा लमजुङबाट पक्राउ परेका कालु गुरुङ

गाउँमा पसेर खसी चोरी गरेर बजार तिर लैजादै गर्दा एक जना लमजुङमा पक्राउ परेका छन्। लमजुङको क्व्होलासोथार गाउपालिका ४ घर भएका ३४ वर्षीय कालु गुरुङलाई प्रहरीले खसी चोरी गरेको आरोपमा पक्राउ गरेको हो।

अभियुक्त गुरुङले गएको असार १९ गते राती बेसीशहर नगरपालिका ९ साम्दी बस्ने शान्तिबहादुर बस्नेतको खोरबाट एउटा खसी र सोही ठाउँ बस्ने गोविन्द विकको घरबाट एउटा खसी गरी २ वटा खसी चोरी गरेपछि बसको डिक्किमा राखेर बेच्न डुम्रेतर्फ लैजाँदै गर्दा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

आइतबार बिहान बेंसीशहर नगरपालिका ७ बस्ने सुकमाया भुजेलको खोरबाट २ वटा खसीहरु चोरी भएको भन्ने सूचनाको आधारमा खोजतलास गर्ने क्रममा बिहानको समयमा गुरुङले बेसीशहरबाट डुम्रे तर्फ जाँदै गरेको बसको डिक्किमा राखी उल्लेखित खसीहरु बिक्री बितरण गर्न लैजादै गरेको अवस्थामा फेला पारेर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय, लमजुङले जनाएको छ ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र लमजुङको पत्र अनुसार उल्लेखित खसीहरुको बजार मुल्य करिव ५० हजार रुपैयाँ रहेको र पक्राउमा परेका गुरुङउपर जिल्ला अदालतबाट चोरी सम्बन्धी कसूरमा पहिलो पटक ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए ।

प्रहरीका अनुसार मुलुकी अपराध संहिता, २०७४ अनुसार चोरी गर्ने व्यक्तिलाई ३ देखि ५ बर्षसम्म कैद र ३० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानूनी व्यवस्था रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार