बालिका बलात्कार प्रयास आरोपी छुटाउन प्रहरीमाथि ढुंगामुढा, १० राउन्ड अश्रुग्यास र ४ राउन्ड हवाई फायर, ४ सर्वसाधारण घाइते

बालिका बलात्कार प्रयास आरोपी छुटाउन प्रहरीमाथि ढुंगामुढा, १० राउन्ड अश्रुग्यास र ४ राउन्ड हवाई फायर, ४ सर्वसाधारण घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १२ फाल्गुन २०७३
  • 8K
    Shares

कपिलवस्तु जिल्लाको दक्षिणी हर्दौना गाविसमा बिहीबार बलात्कार प्रयास आरोपमा पक्राउ परेका एक व्यक्तिलाई ‘आफैं कारबाही गर्छौं’ भन्दै छुटाउन गएका स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेका छन् । भीड नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्‍यो । त्यस क्रममा प्रहरीसहित ४ घाइते भएका छन् । १० राउन्ड अश्रुग्यास र ४ राउन्ड हवाई फायर गरेपछि स्थिति नियन्त्रणमा आएको छ ।

बिहीबार दिउँसो उक्त गाविसको करैलिया गाउँ नजिक खरबारीमा गोबर गुइँठा लिन गएकी १२ वर्षीया बालिकामाथि बलात्कार प्रयास भएको थियो । स्थानीय सद्दाम पठानले उनको हात समातेर पछारेपछि कराएकी थिइन् । बालिकाको कपडा च्यातिएको छ । आसपासका बासिन्दा जुटेर होहल्ला गरेपछि पठान भागेका थिए । युवक घरमा आएर ढोकाको चुकुल लगाएर लुकेका थिए । लगत्तै सीमा चौकी हर्दौनाका प्रहरीले चुकुल फोडेर उनलाई पक्राउ गरे । तर, स्थानीयले चौकी घेराउ गरेर ती व्यक्तिलाई ‘जनता’ ले कारबाही गर्ने बताउँदै छुटाउन माग गरेका थिए ।

असामान्य स्थिति आएपछि प्रहरीले थप बल झिकाएको थियो । आरोपीलाई कारबाहीका लागि चौकीबाट गाडीमा राखेर लैजान खोज्दा स्थानीयले ढुंगामुढा गरेका थिए । स्थिति नियन्त्रण बाहिर जान थालेपछि १० राउन्ड आश्रुग्यास र ४ राउन्ड हवाई फायर गरेको प्रहरीले जनायो । ‘ढुंगामुढाबाट प्रहरीको २ वटा टिपरको अगाडिको सिसा फुटेको छ,’ डीएसपी प्रलाद लामिछाने भने, ‘प्रहरी सामान्य घाइते भए ।’

भागदौड र प्रहरीको लाठी प्रहारबाट ४ सर्वसाधारण घाइते भएको स्थानीय दीपक ठाकुरले बताए । ५ बजेबाट अवस्था सामान्य बनेको छ । पीडित पक्ष सम्पर्कमा आएको जिल्ला प्रहरीका एसपी भोजजंग शाहले बताए । ‘पीडितको स्वास्थ्य परीक्षण र मनोपरामर्शका लागि अस्पताल पुर्‍याइएको छ । जाहेरी लिई अनुसन्धान प्रक्रिया सुरु गरिसक्यौं,’ उनले भने ।

प्रतिक्रिया