धरानबाट दुई वटा पेस्तोलसहित तीन जना युवा पक्राउ परेका छन्। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको (रिट) समुह र इलाका प्रहरी कार्यालय धरानको संयुक्त प्रहरी टोलीले धरानबाट दुईवटा पेस्तोलसहित बैशाख ३१ गते राती तीन जना युवालाई पक्राउ गरेको हो।
धरान उपमहानगरपालिका वडा नंं. १७ डाँडा घोपा बस्ने २९ वर्षीय हुकमेन जिमी, हुकमेन जिमीको भाई २४ बर्षीय दीपक जिमी र धरान १५ का २४ वर्षीय रोहित राईलाई दुई वटा पेस्तोलसहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धरान सुनसरीका प्रहरी नायब उपरिक्षक नवराज मल्लले जानकारी दिए ।
डिएसपी मल्लका अनुसार, बैशाख ३१ गते राती हुकमेन जिमी र दिपक जिमीलाई उनीहरुकै घरकोठाबाट पक्राउ गरी सोधपुछ गर्ने क्रममा हुकमेन जिमीले दुई थान पेस्तोल खरिद गरी ल्याएको खुलेको थियो। खरिद गरेर ल्याएको दुई वटा पेस्तोलमध्ये एउटा पेस्तोल उनको भाई दिपक जिमीले सर्दुखोला नजिकै झाडीमा लुकाई राखेको खुलेपछि प्रहरीले बरामद गरेको प्रहरीले जानकारी दिएको छ।
यसै गरी रोहत राईको घरकोठामा प्रहरीले खनतालसी गर्ने क्रममा राई सुत्ने पलङको डस्ना मुनी लुकाएर राखेको अवस्थामा म्याग्जिन सहितको ‘मेड इन इटली’ लेखेको १ थान पेस्तोल सहित प्रहरीले फेला पारेको बताइएको छ ।
पक्राउ परेका तीनैजनाको इलाका प्रहरी कार्यालय धरानले मुलुकी अपराध संहिता,२०७४ को परिच्छेद–६ को हातहतियार खरखजना सम्बन्धी कसुर अन्तर्गत सुनसरी जिल्ला अदालतबाट पांच दिनको म्याद थपगरी थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरिक्षक नवराज मल्लले बताए ।