रामेछापको सदरमुकाम मन्थली बजारबाट मोटरसाइकल चोरी गरेको आरोपमा एक जना प्रहरी जवान पक्राउ परेका छन्।
गत शनिवार साँझ सदरमुकाम मन्थलीस्थित कृषि विकास बैङ्कबाट झर्ने ओरालोमा पार्किङ गरिराखेको अवस्थामा बागमती प्रदेश ०२–०२८ प ०९०७ नम्बरको यामाहा एफ जेट कालो रंगको मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले दोलखा घर भइ हाल जिल्ला प्रहरी कार्यालय रामेछापमा चालक रहेका प्रहरी जवान उपेन्द्र भण्डारीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
प्राप्त जानकारी अनुसार, मोटरसाइकल हराएपछि मोटरसाइकल धनी एम ए. डब्लु. इन्टरप्राइृजेज प्रा.लि.का धनी रमेश नेपालीले प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीको आधारमा प्रहरीले सिसी क्यामेराको फुजेट खोजी गर्ने क्रममा हराएको मोटरसाइल र सो मोटरसाइकल चलाउने प्रहरी जवान उपेन्द्र भण्डारी रहेको खुलेपछि खुलासा भएको थियो । उक्त रहस्य खुले पछि जिल्ला प्रहरी कार्यालय रामेछापले मोटरसाइकल चोरीमा संलग्न प्रहरी जवान भण्डारीलाई पक्राउ गरेर जिल्ला अदालत रामेछापमा चोरी मुद्दामा अदालतबाट १० दिन म्याद थप गरेर अनुसन्धान शुरु गरेको प्राप्त समाचारमा जनाइएको छ ।
मुद्दा चलेसंगे प्रहरी जवान भण्डारी निलम्बनमा परेका छन् भने चोरी भएको मोटरसाइकलको पार्टपुर्जा टुक्राटुक्रा पारेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी होम बहादुर पराजुलीले संगठनभित्र गलत काम गर्नेमाथि कडा रुपमा प्रस्तुत हुने बताए । उनले भने,‘गलत काम गर्ने प्रहरी जवानलाई निलम्बन गरेर थप कारवाहीको लागि प्रक्रिया अघि बढाएका छौ, आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन प्रहरी सचेत छ ।’
प्रहरी संगठनभित्र कुैन एक व्यक्तिले गलत काम गर्दैमा संगठन नै गलत नहुने बताउदै गलत आफ्नै संगठनका कर्मचारीमाथि पनि प्रहरीले निर्ममतापूर्वक कारवाही गर्ने बताए । उनले रामेछाप न्युजसँग भने,‘प्रहरी जवान भण्डारीमाथि अनुसन्धान भइरहेको छ, अब कानुनी रुपमा सजाय दिलाउनका लागि प्रमाणसहित जिल्ला अदालतमा पेश गछौ, संगठनलाई बदनाम गराउन लाग्ने माथि कुनै पनि सम्झौता हुँदैन ।’