मधेस केन्द्रित दलले उठाएका मुद्दालाई पृष्ठपोषण गर्ने उद्देश्यले भारतीय राजदूतावास सक्रियता बढाएको छ।जनकपुरमा बिहीबारदेखि सुरु दुई दिवसीय छलफल कार्यक्रममा सहभागी नेपालका लागि भारतीय राजदूत रञ्जित रेले नेपालको राष्ट्रियताको सवालमा आफूले केही टिप्पणी गर्न गाह्रो रहेको बताए पनि नेपालमा रहेको विविधतामा एकता नारालाई सार्थक कसरी बनाउने भन्ने चुनौती औंल्याए।
राजदुत रेले जोड दिँदै भने, ‘नेपालमा व्याप्त विविधतालाई समेटेर राष्ट्रिय पहिचान कायम गरिनु अहिलेको आवश्यकता छ।’ राजदुत रेले दुई देश बीचको सम्बन्ध सुदृढिकरणका लागि संयुक्त सीमा विकास कार्यक्रमको अवधारणालाई अघि बढाउन आफूहरू प्रयत्नरत रहेको बताएका थिए।
सीमाक्षेत्रका समस्यालाई पहिचान गरी त्यसको निराकरण गर्नेतर्फ भारत लागिपरेको र त्यसकै उदाहरणको रूपमा हुलाकी राजमार्गको निर्माण, जनकपुर बर्दिबास रेलसेवा विस्तारसहितका कार्य भइरहेको रेको भनाइ थियो।
कार्यक्रममा सहभागी नेपालका लागि भारतीय पूर्वराजदूत शिवशंकर मुखर्जीले अहिले नेपालको राजनीतिमा नयाँ नेपाल बनोस् भन्ने चाहना भए पनि मधेस पुरानै रहोस् भन्ने मानसिकता व्याप्त रहेको र त्यो कहिले सम्भव नहुने धारणा राखेका थिए।
मुखर्जीले वर्तमान राजनीतिप्रति इंगित गर्दै भने, ‘नेपालका जनतामा असन्तुष्टि व्याप्त छ। संविधानमा मधेसीको मुद्दालाई सम्बोधन गरिएको छैन यस्तो अवस्थामा लोकतन्त्र संस्थागत गर्नु गाह्रो छ।’
दुवै देशका नेता तथा कुटनीतिज्ञहरू सीमाक्षेत्रको सम्बन्ध प्रगाढ बनाउने सुझाव भन्दा पनि राष्ट्रिय राजनीतिले मधेसलाई विभेद गरेको भन्ने कुरामा केन्द्रित भएका थिए।
कार्यक्रममा सहभागी नेपाल–भारतका नेता तथा कुटनीतिज्ञले मधेसी जनतासँग संविधानमा विभेद भएको भन्दै असन्तुष्टी व्यक्त गर्नमा लागेका थिए।
कार्यक्रमका प्रमुख अतिथि उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिका अगाडी मधेसवादी दलका नेता तथा भारतीय कुटनीतिज्ञले खुलेरै संविधानप्रतिको असन्तुष्टी पोखेका थिए।
पूर्वराजदूत विजयकान्त कर्णद्वारा सञ्चालित संस्था जागृत नेपालले आयोजना गरेको दुर्ई देशबीचको सीमा क्षेत्रका बासिन्दा बीचको सम्बन्ध अभिवृद्धि विषयक कार्यक्रममा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसी जनतालाई वर्षौदेखि नेपाली शासकले शोषण गर्दै आएको र अहिले पनि त्यस प्रक्रियालाई निरन्तरता दिने प्रयास भइरहेको अवस्थामा भारतले असल छिमेकीको नाताले बोल्यो भने त्यसलाई राजनीतिक हस्तक्षेप भनेर परिभाषित गर्नु हास्यास्पद रहेको बताएका थिए। त्यसैगरी संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल भारत सम्बन्ध सधैं द्धिविधामै रहेको बताए।
उनले भने, यो सम्बन्धलाई द्धिविधाबाट बाहिर निकाल्न उचित संवादको आवश्यकता छ। सीमा क्षेत्रमा बस्नेहरुको जीवन प्रणाली अतिनै कस्टकर रहेकोले दुई देश बिचको सम्बन्ध सुधारका लागि यस क्षेत्रका बासिन्दाको आर्थिक, समाजिक र सांस्कृतिक विकासलाई माथि उकास्नु पर्ने आवश्यकता रहेकोमा यादवले जोड दिएका थिए।
कार्यक्रमका प्रमुख अतिथी गृहमन्त्री विमलेन्द्र निधिले राजनीतिक प्रणाली निर्माण गर्नमा नेपालको स्वाधीनतालाई सम्मान गर्दै भारतको समर्थन होस् भन्ने आफ्नो चाहना राखेका बताएका थिए। कार्यक्रममा भाजपा नेता संजय पासवान, व्यवस्थापिका संसदका सदस्य अमरेश सिंह लगायत नेपाल भारतका नेताहरुको सहभागिता रहेको छ। कार्यक्रम अन्तर्गत शुक्रबार विभिन्न सत्रहरुमा दुई देशबीचको आर्थिक, सामाजिक, सांस्कृतीक सम्बन्धहरुका विषयमा विशेष छलफल हुनेछ।