गएराती पोखरामा लगातार तीन वटा बैकका एटिएम मेशिन फोड्ने प्रयास भएको छ। पोखरा महानगरपालिका वडा नं.१० रामबजारमा रहेको एनआईसी एसिया बैंक, वडा नं.१५ बनक्याम्पस गेट नजिकै रहेको नेपाल बैंक लिमिटेड र रामबजार पेन्सनक्याम्प नजिक रहेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको एटिएम मेशिन फोड्ने प्रयास भएको हो ।
जिल्ला प्रहरी कार्यालाया कास्कीका अनुसार, गएराती अन्दाजी १२:१० बजेको समयमा एनआईसी एसिया बैंकको ATM मेसिन, फोड्ने प्रयास भएको थियो भने त्यहाँ एटिएम फोड्ने प्रयास विफल भए पछि बिहान ०१:२२ बजे नेपाल बैंक लिमिटेडको ATM मेसिन र त्यहाँ पनि एटिएम फोड्ने प्रयास विफल भएपछी बिहान ०४:०२ बजेको समयमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको ATM मेसिन फोड्ने प्रयास भएको थियो।
रातको समयमा पटक पटक एटिएम फोड्न ढुगामुढाले हान्ने, सीसीटीभी क्यामेरालाई समेत कागजले छोप्ने प्रयास भैरहेको सुचना पाएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले उदयपुर गाईघाट नगरपालिका वडा नं.७ स्थायी घर भई हाल पोखरा म.न.पा. वडा नं.१७ छोरेपाटन बस्ने वर्ष २१ को शुसिल चाम्लिङ राई र लम्जुङ मर्स्याङ्दी गाउपालिका वडा नं.४ स्थायी घर भई हाल पोखराको छोरेपाटन बस्ने वर्ष २१ को अर्जुन भन्ने लुबहादुर गुरुङलाई बैकका एटिएम मेशिन फोड्ने प्रयास गर्दै गर्दा पक्राउ गरेको प्राप्त समाचारमा जनाइएको छ।
उनीहरु बिरुद्ध प्रहरीले चोरी तथा डाँका सम्बन्धी कसूर अन्तर्गत चोरी उद्योग मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिन म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाइएको छ।
पोखरा महानगरका विभिन्न बैंकमा एक वर्षको अवधिमा दर्जनभन्दा बढी बैंकका एटीएम फोड्ने प्रयास भएका छन् । गत साउन ४ गते पोखराको अर्घौंचोकस्थित एनएमबि बैंकको एटीएम मेसिन फोडेर २ वटा क्यासकेटमा रहेको १४ लाख ७१ हजार रुपैयाँ चोरी भएको थियो ।
एनएमबि बैंकको एटीएम फोडेर फरार रहेका नवलपुरको देवचुली नगरपालिका घर भई हाल पोखरा ३०, डुँडुलेमा बस्दै आएका २१ वर्षीय भेडे भनिने अनिष तामाङलाई पक्राउ गरेको थियो ।
लगातार बैंकका एटीएम मेसिन फोड्ने प्रयास र चोरी नै हुन थालेपछि कास्की प्रहरीले ‘अपरेसन एटीएम हाइस्ट’ नै चलाएको थियो । विभिन्न अनुसन्धान अधिकृत, आईटी विज्ञसहित उक्त अपरेसन टोलीले अनुसन्धानका क्रममा नेपालभरिका एटीएम बुथमा राखिएका एटीएम मेसिनमा भेण्डरकै कमजोरी पत्ता लगाएको थियो ।