पश्चिमाञ्चल डिलर्स एसोसिएसनका मनोनित सदस्य तथा अटो व्यवसायी सौरभ थापा पक्राउ छन् ।
अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) अध्यक्ष ध्रुव थापाका छोरा सौरभले चलाएको गाडीको ठक्करबाट चेकिङमा बसेका प्रहरीको हात भाँचिएको प्रहरीको भनाइ छ ।
गत बिहीबार पोखरा रामबजार भारतीय पेन्सन क्याम्पअघि राती ३ बजे सो घटना घटेको प्रहरीको भनाइ छ ।
रक्सीले मातेर गाडी चलाएका थापालाई रामबजारमा प्रहरीले रोकेपछि उनले स्टन्ड देखाउँदै अगाडि भागेको र फेरि फर्किएर आएर प्रहरीलाई हानेको स्रोतको दाबी छ ।
‘उनले प्रहरीलाई गाडीको ढोकाले हुत्याए, उनले मादक पदार्थ सेवन गरेका थिए’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘गाडीको ढोकाले लागेर प्रहरी हवल्दार चित्रबहादुर वलीको हातै भाँचिएको छ ।’
उनलाई बिहीबार पक्राउ गरी अभद्र मुद्दामा ५ दिनको म्याद थप गरिएको छ । मुद्धाको फाइल सरकारी वकिलको कार्यालयलाई बुझाइएको छ ।
गत पुस २१ गते पनि मदिरा सेवन गरी गाडी चलाएका सौरभले पोखरा लेकसाइडमा अर्को गाडीलाई ठक्कर दिएका थिए । तर, थापा भोलिपल्टै पक्राउ परेर पनि छुटेका थिए ।
‘थापाले बाटोमै केहीबेर स्टन्ड नै देखाएका थिए । प्रहरीले पक्राउ गरेर चेतावनी दिँदै थापालाई परिवारको जिम्मा लगाइएको थियो,’ एक प्रहरीले भने, ‘उनीहरुले यसअघि पनि विभिन्न ठाउँमा स्टन्ड देखाउने गरेका थिए ।’