बृद्ध तथा एकल महिलाको गरगहना र नगद लुटी विभिन्न ठाउँमा तीन जना नहिलाको हत्या गरेको आरोपमा अर्घाखाँचीबाट प्रहरीले एक भारतीय दम्पत्तिलाई पक्राउ गरेको छ।
चार महिनाको अवधिमा अर्घाखाँची, गुल्मी र कपिलवस्तुका तीन महिलाको हत्या गरेको आरोपमा प्रहरीले भारतको गुडगाउँ हरियाणाका २३ वर्षीय सुशान्त सिंह र उनकी श्रीमती शिवा परियारलाई अर्घाखाँचीबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार, उनीहरूले यही पुस १७ गते शितगंगा नगरपालिका–१० बहखोरकी ६० वर्षीय राधा थापाको हत्या गरी गरगहना लुटेका थिए। त्यसअघि कात्तिकमा गुल्मीको इस्मा गाउँपालिका–५ की ७५ वर्षीय जीवकला थापाको हत्या गरेको प्रहरीले जनाएको छ। गत असोजमा उनीहरूले कपिलवस्तुको विजयनगर गाउँपालिका–४ की ७० वर्षीय योगमाया गैरेको हत्या गरेका थिए।
पछिल्लो हत्यापछि अभियुक्त सिंह शितगंगा ११ को मुन्द्रीबास जंगलबाट पक्राउ परेका बताइएको छ। भारतको गुडगाउँ हरियाणा घर भई अर्घाखाँची शितगंगा १० सिद्धारामा ससुराली भएका अभियुक्त सुशान्तले श्रीमतीसँग मिलेर हत्या गरेको बताएका थिए। यससँगै परियारलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्दप्रसाद रिजालले बताए। दुवैलाई कर्तव्य ज्यान मुद्दा चलिरहेको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए।