प्रशासनले सदरमुकामका सबै क्लिनिकमा तालाबन्दी गरेपनि नक्कली डाक्टरलाई कारबाही भएन

प्रशासनले सदरमुकामका सबै क्लिनिकमा तालाबन्दी गरेपनि नक्कली डाक्टरलाई कारबाही भएन


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २६ माघ २०७३
  • 15K
    Shares

अबैध रुपमा संचालन गरिएको भन्दै स्थानीय प्रशासनले बझाङ जिल्ला सदरमुकाममा रहेको सबै मेडिकलहरुमा तालाबन्दी गरेपनि अबैध रुपमै उपचार गरिरहेका एक नक्कली चिकित्सक (डाक्टर)लाई कारबाही नगरी छाडेको छ l बझाङ सदरमुकाम चैनपुरमा रहेको भगवती हेल्थ क्लिनिकले चलाएको तीन दिने स्वास्थ्य शिविरमा महँगो सेवा शुल्क लिएको भएपनि राम्रो उपचार नगरिएको गुनासो पिडित बासिन्दाले स्थानीय प्रशासनसमक्ष गरेका थिए l पिडित बासिन्दाको गुनासो बमोजिम उक्त स्वास्थ्य शिविरको अनुगमन गर्न पुगेको स्थानीय प्रशासन सहितको टोलीले सो स्वास्थ्य शिविरमा नक्कली चिकित्सक डा. प्रणय मण्डलले उपचार गरिरहेको फेला पारेपनि कारबाही नगरी फर्किएको प्राप्त समाचारमा जनाइएको छ l

सो शिविरको अनुगमन गर्न प्रहरीसहित जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्त, जिल्ला अस्पतालका प्रमुख डा. विष्णु खतिवडालाई लिएर सहायक प्रमुख जिल्ला अधिकारीको टोली शिविर स्थलमा पुगेको थियो l सो टोलीले शिविरको आयोजक भगवती क्लिनिक नै दर्ता नभएको भन्दै शिबिर संचालनमा रोक लगाएको थियो l सोही क्रममा अनुगमन टोलीले शंका लागेर चिकित्सकको प्रमाण हेर्दा शिविरमा उपचार गरिरहेका डाक्टर प्रणय मण्डल चिकित्सक प्रमाणपत्र हेरेको थियो l

भारतको इन्स्टिच्युट अफ अल्टरनेटीभ मेडिसिनको प्रमाणपत्र देखाएका अनुगमन टोलीलाई नक्कली डाक्टर मण्डल आफैंले “प्रमाणपत्र नक्कली भएको” स्वीकारे । तर उनलाई सो अनुगमन टोलीले पक्राउ गरी कारबाही गर्नुको सट्टा “अब देखि यस्तो काम नगर्नु” भन्दै सम्झाएर छाडेको थियो ।

भारतको कलकत्ता घर भएका प्रणय मण्डल झण्डै दश वर्ष देखि जिल्लाका विभिन्न ठाउँमा मेडिकल तथा क्लिनिकहरु संचालन गर्दै आएका छन् । विना कुनै औपचारीक अध्ययन चिकित्सकको काम गरेर वर्षौंदेखि ठगी गर्दै आएका मण्डललाई त्यतिकै छोडेको देखेर अनुगमनमा संगै गएकाहरु छक्क परे ।

‘खुलेआम जनस्वास्थ्य माथि खेलवाड गरिहेको व्यक्तिलाई कारवाही हुनपर्ने हो । उसले गल्ती गरेको प्रतिवेदन लेखेर दिनुपर्छ भने पनि हामी तयार छौं,’ टोलीमा संगै रहेका जिल्ला अस्पतालका प्रमुख विण्णु खतिवडा भने, ‘यस विषयमा मैले प्रमुख जिल्ला अधिकारीलाई जानकारी समेत गराइसकेको छु ।’

मण्डलले बिना पुर्जी औषधिहरु दिने र औषधिले नकारात्मक असर पुर्‍याइ सिकिस्त भएका बिरामीहरु यस अघि पनि जिल्ला अस्पतालमा आउने गरेको दाबी खतिवडाको थियो । ‘यस्तो संवेदनशिल विषयमा कारवाही भएन भने बेथिति झनै बढ्छ,’ उनले भने ।

जिल्ला प्रशासन कार्यालयले भने उनको नाममा कसैको पनि उजुरी नपरेका कारण पक्राउ गर्न नसकिएको बताएको छ । आफ्नै आँखा अगाडि नक्कली डाक्टर भनि प्रमाणित हुँदासम्म पनि किन पक्राउ नगरेको भनि सोधेको प्रश्नमा सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्लले आफूले प्रमुख जिल्ला अधिकारीलाई जाहेर गरेको र यस विषयमा निर्देशन नआएका कारण पक्राउ गर्न नसकेको बताए ।

प्रमुख जिल्ला अधिकारी सुनिल खनालले भने कसैले उसले ठगेको प्रमाणसहित उजुरी गरे तत्काल पक्राउ गरेर कारवाही गरिने बताए । 

‘डाक्टर नक्कली भएको प्रमाण सहायक प्रमुख जिल्ला अधिकारी स्वयंले हेरीसके पछि किन उजुरी खोजेका हुन् ?’ नागरिक समाजका अगुवा धर्मजंङ सिंहले भने, ‘कारवाही गर्ने निकायको प्रमुख स्वयंले गलत भेटाउँदा पनि कानुनको दफा पल्टाएर छोड्नु भनेको हास्यास्पद विषय हो ।’

मण्डलले केही महिना अघि भगवती फार्मेसीको नाममा क्लिनिक आफै संचालन गरिरहेका थिए । अहिले  भैरवनाथ गाविसका समीतराज धामीको नाममा भगवती हेल्थ क्लिनिक नाम दिएर औषधि व्यवस्था विभागको स्विकृती बेगर मेडिकल संचालन गर्ने र चिकित्सकीय काम गर्ने गरीरहेका छन् । बुधबार दर्ता नगरी संचालन गरिएको भन्दै उनको क्लिनिकमा जिल्ला प्रशासन कार्यालयले ताला लगाएको छ । उनले कञ्चनपुरको महेन्द्रनगरमा पनि डाक्टर हुँ भन्दै क्लिनिक र फार्मेसी संचालन गरिरहेको बुझिएको छ ।

सर्वसाधारणको स्वास्थ्यमा खेलवाड गरेका प्रमाण भेटिए

मेडिकल अनुगमनका क्रममा सामान्य बिरामीलाई पनि धेरै खालका औषधि एकै पटक दिने गरेको भेटिएको जिल्ला जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताए । ‘औषधि बेचेको विवरण हेर्दा ५०/६० रुपैयाँको औषधिले पुग्ने बिरामीलाई सात हजार दुईसयसम्मको औषधि दिएको भेटियो,’ उनले भने ‘रोगको निदान नगरी एउटा औषधिले त काम गर्ला नि भन्ने नियत राखेर औषधि बेचेको भेटायौं ।’

मेडिकलहरुको लापरवाहीको हद नाघ्न थालेकोले आफुहरुले अनुगमन गरेको बताउँदै जिल्ला अस्पतालका प्रमुख डाक्टर विष्णु खतिवडाले भने, ‘मेडिकलको औषधि खाएर सिकिस्त भएका बिरामीहरु अन्त्यमा जिल्ला अस्पतालमा आउँछन् । जथाभावी औषधि वितरण गरेका कारण मृगौला काम नलाग्ने भएका, रक्तचापलगायतका समस्या भएका बिरामीहरु संख्या पनि बढ्न थालेको छ । मेडिकलवालाहरुको मनोमानी छ ।’ महिनामा ५/६ जना बिरामीहरु मेडिकलको औषधि खाएर सिकिस्त भएपछि जिल्ला अस्पतालमा उपचार गराउन आउने गरेको उनले दाबी गरे ।

यहाँका धेरै जसो बिरामीहरु स्वास्थ्य संस्थामा नगएर पहिला मेडिकलमा नै जाँच गर्न जाने गरेका कारण कतिपय मेडिकलहरुले शैय्या नै राखेर भर्ना गरेर बिरामीको उपचार गर्ने गरेका छन् । कुनै मेडिकलमा ८/१० वटासम्म बेड राखेर भर्ना गरी उपचार गर्ने गरेको पाइएको अनुगमनमा संलग्न नागरिक समाजका अगुवा धर्मजंगबहादुर सिंहले बताए । ती सबै मेडिकलहरु अनुमति बिनै संचालन गरिएका हुन ।

उक्त स्वास्थ्य शिबिर अनुगमन गरेको टोलीले पुन: सदरमुकाम चैनपुरका सबै क्लिनिकहरु पनि अनुगमन गरेको थियो l अनुगमनमा औषधि व्यवस्था विभागको अनुमति नै नलिई संचालन गरिएको फेला परेपछी जिल्ला प्रशासन कार्यालय बझाङले  सदरमुकाममा भएका सबै मेडिलकमा तालाबन्दि गरेको  छ । औषधि व्यवस्था विभागको शाखा कार्यालय बाँकेको अनुमति लिएर मेडिकलको अनुगमन गर्दा दर्ता नभई संचालन गरेको पाइएकोले ताला लगाइएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताए ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र प्रहरीसहितको टोलीले अनुगमन गरिएका सुर्मा देवी फार्मेसी, चैन मेडिकल स्टोर, भगवती हेल्थ क्लिनिक, कालिका मेडिकल, जितेन्द्र मेडिकलमा ताला लगाएको हो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार