बागलुङको दक्षिण क्षेत्र जोड्ने बाग्लुङ–कुश्मिसेरा सडक तीन महिनापछि खुलेको छ । बागलुङ नगरपालिका–१० दब्लाङमा असारमा गएको ठूलो पहिरोले सडक खण्डसहित कालीगण्डकी करिडोरसमेत बन्द बनेको थियो । सडक खुलेसँगै दशैँमा घर जान आउन सहज भएको छ ।
सडक नियमित गर्ने प्रयास गरिए पनि पहिरो झर्ने जोखिमका कारण दक्षिण क्षेत्रका नागरिकले तीन महिनायता सास्ती खेप्नु परेको थियो । निरन्तरको दबाबपछि दुई हप्ता अघि मर्मत सुरु गरिए पनि वर्षा भएका कारण सडक पहिरोले बगाएपछि सडक सञ्चालनमा ल्याउन केही ढिलाइ भएको मालढुङ्गा कुश्मिसेरा सडक मर्मत समितिका अध्यक्ष यादव शर्माले जानकारी दिए ।
सरोकारवाला निकायले पटक–पटक निरीक्षण गरे पनि भौगोलिक अवस्थाका कारण सडक नियमित गर्न कठिनाइ भएको थियो । बागलुङ नगरपालिकाको जनश्रमदानसहित २० लाख ९३ हजार रुपैयाँ विनियोजन गरी मर्मतको काम अगाडि बढाइएको थियो ।
उपभोक्ता समितिमार्फत सडक मर्मत गरी तत्कालका लागि एकातर्फी रुपमा भए पनि गाडी सञ्चालनमा ल्याइएको उपभोक्ता समितिका अध्यक्ष शर्माले बताए । बागलुङ नगरपालिका– १३ का वडाध्यक्ष नारायण शर्मा पौडेलले सरोकारवाला निकायले अनुगमन गर्दा लागत अनुमान धेरै भए पनि अहिले तत्कालै जनताले पाएको दुःखलाई मध्यनजर गर्दै नगरपालिकाको विपद् व्यवस्थापनकोषबाट केही रकम छुट्याएर काम अगाडि बढाइए जानकारी दिए।
लामो समयदेखि बाग्लुङकाे दक्षिणी भेग तथा बागलुङ नगरपालिकाको बलेवा क्षेत्र सडक सम्पर्कविहीन बनेपछि सहज होस् भनेर मर्मत सुरु गरिएको हो । नगरपालिकाले जनश्रमदान बाहेक १६ लाख ६० हजार रुपैयाँ सडकलाई छुट्याएको उपभोक्ता समितिका सचिव ज्ञानेन्द्र ढकालले जानकारी दिए।
सडक बन्द हुँदा भकुण्डे, रायडाँडा, बलेवा क्षेत्र, जैमिनी र बरेङ गाउँपालिकाका यात्रुले सास्ती खेप्नु परेको थियो ।