पाँच महिनादेखि अलपत्र रहेको बेनी–दरबाङ सडक निर्माण पुनः सुरु भएको छ।
ब्यापक जनदबाबका कारण पाँच महिनादेखि अलपत्र रहेको बेनी–दरबाङ सडक निर्माण पुनः सुरु भएको हो ।
सहायक ठेकेदार दयाराम थापा गत चैतदेखि कार्यक्षेत्र छाडेर भागेपछि अलपत्र बनेको यस सडक निर्माण कार्यलाई मुख्य ठेकेदार कम्पनी समानान्तर–लामा जेभीले भदौ पहिलो सातादेखि सडक निर्माण कार्यलाई निरन्तरता दिई रहेको कम्पनीका इञ्जिनीयर महेन्द्र शाहले जानकारी दिए । उनले कम्पनी आफैले सडक निर्माणलाई पूर्णता दिने गरी काम शुरुआत भएको बताए। उनले भने, “आगामी वैशाख महिनाभित्र कालोपत्रे गर्ने लक्ष्यसहित उपकरण र मजदूरको सङ्ख्या बढाएर फरक–फरक ठाउँमा परिचालन गर्दैछौँ ।”
बाह्र किलोमिटर ५०० मिटर सडक ११ मिटर फराकिलो बनाएर सात मिटर चौडाइका दरले कालोपत्रे गर्ने जनाइएको छ ।इन्जिनियर शाहले दिएको जानकारी अनुसार, अहिले ४० मजदूर, छ स्काभेटर, चार टिपर, एक ट्र्याक्टर र एक ब्याकुहोलोडरले काम गरिरहेका छन्।
विसं २०७४ असोज ४ गते रु। ४५ करोडमा ठेक्का सम्झौता भएको यो सडक २०७६ माघ ४ गते निर्माण सक्ने लक्ष्य थियो । हालसम्म करिब ६० प्रतिशत मात्रै भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । कार्यालयका इञ्जिनीयर सन्तोष अर्यालले पछिल्लो पटक आगामी चैत महिनासम्म ठेक्काको म्याद थपिएको जानकारी दिए ।
कम्पनीले हालसम्म ५० प्रतिशत निर्माण सकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । मङ्गला गाउँपालिकाको सिमदेखि लाम्पाटासम्मको साढे दुई किलोमिटर सडक स्तरोन्नतिका लागि ठेक्का सम्झौताको तयारी गरेको कार्यालयका इञ्जिनीयर सञ्जय सुवेदीले बताए ।
तत्कालीन सडक डिभिजन कार्यालय बागलुङले ठेक्का लगाएको यो आयोजना २०७५ पुसमा प्रदेश सरकारलाई हस्तान्तरण भएको थियो । आयोजनाको दोस्रो चरणमा लाम्पाटादेखि दरवाङसम्म आठ किलोमिटर खण्ड सडक कालोपत्रे गर्न रु २२ करोड ५७ लाख ९३२ मा २०७६ जेठ ३१ गते बिरुवा–क्याराभान जेभीले ठेक्का लिएको थियो ।
जिल्लाको रणनीतिक महत्वको सो सडक खण्ड मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने मुख्य सडक हो।