अबैध रुपमा सेती नदीबाट ढुंगाबालुवा निकासी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्ने अभियुक्त पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जाका ६३ वर्षीय रामचन्द्र थापा रहेका छन्।
प्रहरीले उनीविरुद्ध भने ड्युटीमा खटिएका प्रहरीलाई अभद्र ब्यबहार गरेको आरोप लगाएको छ।
अवैध रूपमा गिट्टी, बालुवा उत्खनन भइरहेको भन्ने सूचनाको आधारमा आइतबार नदी क्षेत्रमा खटिएको प्रहरी टोलीमाथि गालीगलौज गर्दै अभद्र व्यवहार गर्ने र हातपात समेत गर्ने प्रयास गरेपछि थापालाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुवास कुमार हमालले जानकारी दिए ।
थापालाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तरगत अभद्र व्यवहार मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी हमालले बताए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, थापाले पोखरा २५ हेम्जा मसिनाबगर सहस्र घाट स्थित सेती नदीमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेका छन्।