पहिरोले अवरुद्ध पृथ्वी राजमार्गको धादिङ खण्ड सञ्चालनमा आएको छ।
सडक विभाग र ट्राफिक प्रहरी कार्यालयको डोजरले सडकमा थुप्रिएका पहिरो हटाएपछि सवारी साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए।
बेनीघाट रोराङ गाउँपालिका –१० तिकराङ र मौवाखोला क्षेत्र लगायतका स्थानमा आज बिहान पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो। निरन्तर वर्षा भइरहेकोले राजमार्गका ठाउँ ठाउँमा पहिरो झर्न क्रम रोकिएको छैन।
पृथ्वीराजमार्गको तनहुँ खण्ड पनि एकतर्फी सञ्चालन
पहिरोले अवरुद्ध भएको पृथ्वीराजमार्गको व्यास नगरपालिका–१२ स्थित छिर्कने खण्डबाट एकतर्फी रुपमा सवारी संचालन भएका छन्।
निरन्तरको प्रयासपछि पहिरो हटाएपछि राजमार्ग एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। ‘साना सवारी सञ्चालन भएका छन्, ठूला सवारी सञ्चालनका लागि केही समय लाग्ने देखिएको छ’, उनले भने। मङ्गलबारदेखिको अबिरल वर्षाका कारण बन्दीपुरस्थित डुम्रेमा पनि आज बिहान पहिरो खसेको थियो। व्यास नगरपालिका–१२ स्थित छर्कनेमा आज बिहान पहिरो खस्दा सो राजमार्ग अवरुद्ध भएको थियो।
यसैबीच सोही राजमार्ग अन्तर्गत शुक्लागण्डकी नगरपालिका–७ कुम्ले खोला नजिक आधा भाग सडक भासिएको छ। सडक भासिए पनि सवारी साधन सञ्चालन भइरहेको प्रहरीले जनाएको छ। खैरेनीटार तर्फबाट नालामा बगेको पानी सडकबाटै बगिरहेको बताइएको छ ।