आजदेखि नेपाली सेनासहित चारवटै सुरक्षा निकाय एकीकृत रूपमा परिचालित

आजदेखि नेपाली सेनासहित चारवटै सुरक्षा निकाय एकीकृत रूपमा परिचालित


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २१ माघ २०८२
  • 7.2K
    Shares

काठमाडौँ, २१ माघ २०८२।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न ‘एकीकृत सुरक्षा योजना २०८२’ अनुरूप बुधबारदेखि चारवटै सुरक्षा निकायहरू फिल्डमा खटिने भएका छन्।

सरकारले यसअघि नै स्वीकृत गरेको उक्त योजनाअनुसार नेपाली सेनाको संयोजनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागले चुनावी सुरक्षाको कमान्ड सम्हाल्नेछन्।

निर्वाचन सुरक्षाका लागि तीन तहको सुरक्षा घेरा निर्माण गरिएको छ। मतदानस्थलको सबैभन्दा भित्री घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी (निर्वाचन प्रहरी) रहनेछन्।

दोस्रो घेराको जिम्मेवारी सशस्त्र प्रहरी बलले सम्हाल्नेछ भने नेपाली सेनाले सबैभन्दा बाहिरी घेरामा रहेर सुरक्षा प्रदान गर्नेछ। यसका साथै सेनाले मतपत्र छपाइ, ढुवानी, कारागार तथा विमानस्थल जस्ता महत्त्वपूर्ण संरचनाको सुरक्षा र मतगणना स्थलको सुरक्षा समेत गर्ने सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए।

निर्वाचन सम्पन्न गर्न ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिँदैछ। नेपाली सेनाले १६५ वटै निर्वाचन क्षेत्रमा गरी करिब ८० हजार जनशक्ति उतार्ने तयारी गरेको छ।

त्यस्तै, नेपाल प्रहरीका ७७ हजार र थप भर्ना गरिएका १ लाख ३३ हजार म्यादी प्रहरी सुरक्षामा खटिनेछन्। सशस्त्र प्रहरीका तर्फबाट ३४ हजार ५७६ जनशक्ति र १५ हजार ११० म्यादी प्रहरी गरी कुल ४९ हजार ६८६ सुरक्षाकर्मी परिचालन हुनेछन्।

सशस्त्र प्रहरीले कुनै पनि घटना घटेको १० मिनेटभित्र घटनास्थल पुग्ने गरी ‘क्विक रेस्पोन्स’ टोली समेत तयार पारेको छ।

निर्वाचन आयोगका अनुसार देशभरका १० हजार ९६७ मतदानस्थललाई सुरक्षाको दृष्टिले तीन भागमा वर्गीकरण गरिएको छ। जसमध्ये ३,६८० स्थललाई ‘अति संवेदनशील’, ४,४४२ लाई ‘संवेदनशील’ र २,८४५ लाई ‘सामान्य’ रूपमा राखिएको छ।

यसपटकको निर्वाचनमा कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाताले २३ हजार ११२ मतदान केन्द्रबाट मतदान गर्नेछन् भने चुनावी प्रतिस्पर्धामा ३ हजार ४०६ उम्मेदवार मैदानमा छन्।

प्रतिक्रिया