पोखरा, २० माघ २०८२।
सरकारले सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक फिर्ता लिने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले विधेयक सङ्घीय सांसदबाट फिर्ता लिने स्वीकृत प्रदान गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। उनले भने, ‘सामाजिक सञ्जालको सञ्चालन प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ सङ्घीय सांसदबाट फिर्ता लिने स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ।’
यसै गरी सोही बैठकले निर्माणाधीन संसद् भवन परिसरमा जेनजी आन्दोलनका शहीदहरूको शालिक बनाउने निर्णय पनि गरेको छ ।
बैठकले शालिक बनाउने गरी सिंहदरबार परिसरको गुरुयोजना संशोधन गर्न स्वीकृति दिने निर्णय भएको गृहमन्त्री ओमप्रकाश अर्यालले बताए ।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई यसअघि शहीद घोषणा गरेको थियो।