पोखरा , २० माघ २०८२।
नेकपा एमालेका तर्फबाट उम्मेदवार रहेका कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस निवासी दलबहादुर गुरुङको नाम निर्वाचन आयोगले उम्मेदवारको सूचीबाट हटाएको छ । ७२ वर्षीय गुरुङको नाम उम्मेदवारको अन्तिम नामावलीबाट हटाइएको आयोगले जनाएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार गुरुङको नाम प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा समेत कायम रहेकाले हालको निर्वाचन प्रणालीको सूचीबाट हटाइएको हो । दलबहादुर आदिवासी जनजाति समूह अन्तर्गत नेकपा एमालेबाट चुनावी प्रतिस्पर्धामा सहभागी हुन खोजेका थिए ।
एकै व्यक्ति दुईवटा निर्वाचन प्रणालीमा उम्मेदवार हुन नपाउने कानूनी व्यवस्थाका कारण आयोगले उक्त निर्णय लिएको हो । आयोगका अनुसार प्रदेश सभाको समानुपातिक बन्दसूचीमा नाम समावेश भएका व्यक्तिहरू प्रत्यक्षतर्फ वा अन्य प्रणालीमा उम्मेदवार रहन पाउँदैनन् ।
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले पेस गरेको समानुपातिक बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम हटाएको छ । आयोगले उम्मेदवारहरूको योग्यता र अयोग्यतासम्बन्धी व्यवस्था, परेका उजुरी र दलहरूबाट प्राप्त जानकारीका आधारमा छानबिन गरी उनीहरूको नाम हटाउने निर्णय गरेको हो ।
आयोगका अनुसार कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका २१ जनाको नाम बन्दसूचीबाट हटाइएको छ । त्यस्तै, प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम कायम रहेका २५ जनाको नाम पनि हटाइएको छ । निर्वाचन आयोगले तोकेको जरिवाना भुक्तान नगरेका १० जना पनि अयोग्य ठहरिएका छन् ।