पोखरा, २० माघ २०८२।
नेपाली कांग्रेसका कास्कीका तत्कालिन नेता रामजी पौडेल ‘बादल हत्या प्रकरणमा चार जनालाई सर्बोच्च अदालतले जन्मकैदको फैसला गरेको छ।
सर्बोच्च अदालतका न्यायाधीशद्वय डा. कुमार चुडाल र नृपध्वज निरौलाको २०८१ साल चैत १७ गतेको संयुक्त इजलाशले गरेको फैसलाको सार्वजनिक पूर्णपाठमा पौडेलको हत्यामा संलग्न चार जनालाई जन्मकैदको फैसला गरेको हो।
२०७२ साउन २८ गते राति कास्कीको लेखनाथमा हत्या गरिएका कांग्रेसका तात्कालिन नेता रामजी पौडेल ‘बादल हत्या प्रकरणमा उक्त इजलाशले गरेको फैसलाको पूर्णपाठमा मुख्य अभियुक्तहरू प्रकाश गुरुङ, विश्वास गौतम, राजु रानाभाट र रबिन केसीलाई ज्यानसम्बन्धी महलको १३(३) बमोजिम जन्मकैदको सजाय हुने ठहर गरेको प्राप्त समाचारमा जनाइएको छ ।
यसअघि उच्च अदालत पोखराले विश्वास गौतमलाई सफाइ दिएको थियो भने राजु रानाभाटलाई पांच वर्ष र रविन केसीलाई एक वर्षमात्र कैद तोकेको थियो । सर्वोच्चले उनीहरू तीनै जनालाई जन्मकैदको भागिदार बनाएको छ । प्रकाश गुरुङको हकमा भने यसअघिको जन्मकैदको फैसला नै सदर भएको छ ।
यो मुद्दामा अन्य सात जना प्रतिवादीहरू भरत पौडेल, सन्दीप गुरुङ, अशोक गुरुङ, वीरेन्द्रकुमार राना मगर, मीनबहादुर घले, चन्द्रबहादुर थापा र लालबहादुर सेन ठकुरीले भने सफाइ पाएका छन् । उनीहरू विरुद्धको अभियोग शंकारहित तवरले पुष्टि हुन नसकेको अदालतको निष्कर्ष छ ।
सरकारी पक्षले सबै प्रतिवादीलाई जन्मकैदको माग गर्दै पुनरावेदन गरेको थियो भने प्रकाश गुरुङ र विश्वास गौतमले आफूहरू निर्दोष रहेको दाबी गर्दै सफाइका लागि पुनरावेदन गरेका थिए । सर्वोच्चले प्रतिवादीहरूको पुनरावेदन जिकिर खारेज गरिदिएको छ । यो फैसलासँगै १० वर्ष लामो कानुनी लडाइँको अन्त्य भएको छ । दोषी ठहरिएकाहरू अब जन्मकैदको सजाय भोग्न बाध्य हुनेछन् ।