नेपाली नोट छाप्ने भारतीय कारखानामा प्रहरीको छापा : अन्तरराष्ट्रिय गिरोहमा संलग्न १० जना पक्राउ

नेपाली नोट छाप्ने भारतीय कारखानामा प्रहरीको छापा : अन्तरराष्ट्रिय गिरोहमा संलग्न १० जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २० माघ २०८२
  • 5.1K
    Shares

काठमाडौँ, २० माघ २०८२।

नेपालमा हुन लागेको प्रतिनिधि सभाको चुनावलाई लक्ष्यित गरेर नेपाली नोट छाप्दै गरेका १० जना भारतमा पक्राउ परेका छन्।

भारत बिहार राज्यको सीतामढी जिल्लाको मेजरगञ्ज क्षेत्रबाट भारतमा नक्कली नोट छपाई गरी नेपालमा पैठारी कार्यमा संलग्न अन्तराष्ट्रिय गिरोहका तीन नेपालीसहित १० जनालाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेको हो । 

पक्राउ परेकाहरुलाई हिरासतमा राखेर विस्तृत सोधपुछ भइरहेको बताए पनि भारतीय प्रहरीले उनीहरुको नाम भने सार्वजनिक गरेको छैन। गिरोहका अन्य सदस्य र मुख्य योजनाकारको पहिचान खुल्ने काम भइरहेको भारतीय सुरक्षा स्रोतले जनाएको छ।

भारत बिहार राज्यको सीतामढी जिल्लाको मेजरगञ्ज क्षेत्रमा पूर्वी चम्पारण प्रहरी र स्पेशल टास्क फोर्स (एसटीएफ)ले गरेको संयुक्त कारबाहीमा नक्कली नोट छाप्ने अत्याधुनिक कारखाना फेला पारेर नष्ट गरेको भारतीय प्रहरीले जनाएको छ।

छापा मार्ने क्रममा प्रहरीले २५ लाख नेपाली नक्कली नोट, एक लाख ४० हजार सक्कली नेपाली रुपैयाँ, एक हजार ८५० नक्कली भारतीय नोट, हाइटेक प्रिन्टिङ मेसिन, नोट विशेष सादा २२ बण्डल कागज, रसायन लगायतका सामग्री बरामद गरेको बिहार पुलिसले जनाएको छ। नक्कली नोट ओसारपसारमा प्रयोग हुने तीनवटा मोटरसाइकल र कार पनि बरामद गरिएको छ।

उक्त गिरोहले खुला नेपाल–भारत सिमानाको फाइदा उठाउँदै निर्वाचनको समयमा नेपालमा नक्कली नोट तस्करी गर्ने र बजारमा बिक्री गर्ने योजना बनाएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 

प्रतिक्रिया