अमेरिकी प्रहरीमा कार्यरत नेपाली युवा प्रदीप तामाङको गोली हानि हत्या

अमेरिकी प्रहरीमा कार्यरत नेपाली युवा प्रदीप तामाङको गोली हानि हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १९ माघ २०८२
  • 5.9K
    Shares

काठमाडौँ, १९ माघ २०८२।

अमेरिकाको जर्जियामा स्थानीय प्रहरी अधिकृत पदमा कार्यरत २५ वर्षीय प्रदीप तामाङको आइतबार बिहान गोली हानि हत्या भएकाे हो।

ठगीसम्बन्धी उजुरीको जवाफ दिन अर्का एक जना सहकर्मीका साथ जर्जिया राज्यको ग्विनेट काउन्टीस्थित स्टोन माउन्टेन क्षेत्रको ‘होलिडे इन एक्सप्रेस होटलमा गएको बेला आइतबार बिहान करिब ७:३० बजे होटलको कोठामा छलफलकै क्रममा ३५ वर्षीय केभिन एन्ड्रयूजले अचानक बन्दुक निकालेर गोली चलाउँदा तामाङको घटनास्थलमै मृत्यु भएको त्यहाँस्थित प्रहरीलाई उद्धृत गर्दै डिसीनेपाल डट कमले समाचार लेखेको छ।

उक्त समाचार अनुसार , केभिन एन्ड्रयूजले छलफलकै क्रममा गोली हाने पछि प्रहरी र ती व्यक्तिबीच गोली हानाहान भएको थियो। गोली लागेर उनीसंगै गएका उनका सहकर्मी एमपीओ डेभिड रिड पनि घाइते भएका छन्। अस्पतालमा उपचाररत उनी हाल स्थिर अवस्थामा रहेको प्रहरीले जनाएको छ। आक्रमणकारी एन्ड्रयूज पनि घाइते भए तापनि उनको अवस्था खतरामुक्त रहेको बताइएको छ।

२५ वर्षीय प्रदीप तामाङ सन् २०२५ देखि साे काउन्टी प्रहरी विभागमा कार्यरत थिए। करिब १० वर्षअघि नेपालबाट अमेरिका आएका तामाङ यसअघि पेन्सिल्भेनियामा बसोबास गर्दै आएका थिए। उनका परिवारका सदस्य र मंगेतर पनि त्यहीँ रहेका छन्। प्रहरी विभागले तामाङको परिवारलाई जर्जियामा ल्याउने पहल गरिरहेको जनाएको छ। घटनाको अनुसन्धान जर्जीया ब्युराे अप इन्भेष्टिगेसनले गरिरहेको छ। 

काउन्टी प्रहरी प्रमुख जे.डी. म्याक्लुरले तामाङको निधनलाई “कर्तव्यमा समर्पित एक बहादुर प्रहरी अधिकारीको अपूरणीय क्षति” भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्। काउन्टी अध्यक्ष निकोल लभ हेन्ड्रिक्सनले पनि समुदायलाई एकताबद्ध भई शोकसन्तप्त परिवारप्रति सहानुभूति प्रकट गर्न आग्रह गरेकी छन्।

कर्तव्यप्रति निष्ठा, साहस र सेवाभावका प्रतीक प्रदीप तामाङको असामयिक निधनले नेपाली समुदायसहित सम्पूर्ण ग्विनेट काउन्टी शोकमा डुबेको छ।

प्रतिक्रिया