पोखराम १७ माघ २०८२।
पोखरासहित हिमालपारीका पर्यटकीय जिल्ला मनाङ र मुस्ताङमा भारतीय सवारीसाधनको अनियन्त्रित प्रवेशले दुर्घटनाको जोखिम बढाएको र स्वदेशी व्यवसायी विस्थापित हुने अवस्था आएको भन्दै यसलाई रोक्न व्यवसायीले माग गरेका छन् । रुट परमिट बिना नै भारतीय निजी तथा सार्वजनिक गाडीहरू पर्यटकीय गन्तव्यमा पुग्दा समस्या सिर्जना भएको भन्दै पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशले जिल्ला प्रशासन कार्यालय कास्कीलाई प्रभावकारी अनुगमन र व्यवस्थापन गर्न आग्रह गरेको हो ।
भारतीय पहेँलो नम्बर प्लेट भएका सार्वजनिक गाडी मात्र नभई सेतो नम्बर प्लेट भएका निजी गाडीले समेत नियम मिचेर भाडाका यात्रु ओसार्दा नेपाली व्यवसायी संकटमा परेको संघको भनाइ छ । विना रुट परमिट सिधै गन्तव्यमा पुग्ने यस्ता गाडीका कारण स्थानीय पर्यटन र यातायात व्यवसाय धराशायी बन्न लागेको भन्दै संघले प्रशासनको ध्यानाकर्षण गराएको छ । संघले विदेशी गाडीलाई पोखरासम्म मात्र आउन दिने र यहाँ पार्किङ गराएर मुस्ताङ तथा मनाङ जान स्थानीय गाडी प्रयोग गर्ने व्यवस्था मिलाउन सुझाएको छ ।
नेपाली व्यवसायीले चर्को मूल्य तिरेर गाडी किन्दा पनि भारतीय सस्ता गाडीसँग प्रतिस्पर्धा गर्न नसक्दा व्यवसाय नै संकटमा परेको गुनासो लामो समयदेखि चल्दै आएको छ । भारतमा २० देखि ३० लाख रुपैयाँ पर्ने गाडीलाई नेपालमा खरिद गर्दा भन्सार, कर र अन्य शुल्कसहित ७० देखि ८० लाख रुपैयाँसम्म पर्छ । नेपाली व्यवसायीले बैंकबाट ऋण लिएर, सडक कर, बिमा र भ्याट तिरेर व्यवसाय सञ्चालन गरिरहेका छन् । तर, भारतीय गाडीले भन्सारबाट अस्थायी अनुमति लिएको भरमा सस्तो भाडामा यात्रु बोक्दा नेपाली व्यवसायीको लगानी जोखिममा परेको हो । थोरै लगानीका भारतीय गाडीले सस्तो भाडामा सेवा दिँदा बैंकको ब्याज र कर्मचारीको तलब खुवाउनसमेत धौधौ परेको व्यवसायीको गुनासो छ ।
संघका अध्यक्ष दुर्गादत्त दहालका अनुसार सीमा वरपर बस्ने नेपाली र पारी बस्ने भारतीय मिलेर नेपालतिर भारतीय गाडी ल्याई यातायात व्यवसाय चलाउने प्रवृत्ति बढेको छ । नियमअनुसार एउटा गाडी वर्षमा निश्चित समयभन्दा बढी नेपाल बस्न नपाउने भए पनि अभिलेख व्यवस्थित नहुँदा यसको दुरुपयोग भइरहेको छ । ‘हामीले माघ १२ गते जिल्ला प्रशासन कार्यालयमा बुझाएको ध्यानाकर्षण पत्रमा यी समस्या समाधानका लागि सहजीकरण गरिदिन आग्रह गरेका छौं,’ अध्यक्ष दहालले भने, ‘प्रशासनले हाम्रो आग्रहपछि प्रहरी र यातायात कार्यालयलाई पत्राचार गरी अनुगमन गर्न निर्देशन दिएको छ, जसले हामीलाई केही राहत मिल्ने आशा जागेको छ ।’
आर्थिक पक्ष मात्र नभई सुरक्षाका दृष्टिकोणले पनि भारतीय गाडीको सिधा प्रवेश जोखिमपूर्ण देखिएको छ । तराई र भारतीय सहरबाट आएका पर्यटक सिधै ३÷४ हजार मिटर उचाइका हिमाली क्षेत्रमा पुग्दा ‘हाइ अल्टिच्युड’ (लेक लाग्ने) समस्या देखिने गरेको संघका पूर्वअध्यक्ष बोबरजंग गुरुङले बताए । ‘नेपालका सीमा नजिकका सहरबाट आउने गाडी सिधा जोमसोम, मुक्तिनाथ तथा मनाङ जाँदा पर्यटकको स्वास्थ्यमा गम्भीर समस्या आउने गरेको छ,’ उनले भने, ‘विदेशी चालकलाई यहाँको ग्रामीण सडक र भौगोलिक अवस्थाको जानकारी नहुँदा दुर्घटनासमेत बढेको छ ।’ विदेशी गाडी पोखरामा रोकेर अनुभवी चालकसहितका स्थानीय गाडी प्रयोग गराउँदा दुर्घटना न्यूनीकरण हुने र व्यवसायीलाई पनि फाइदा पुग्ने उनको भनाइ छ ।
भारतीय गाडीको मनोमानी बढेपछि व्यवसायी आफैं सडकमा उत्रिएर निगरानीसमेत गरेका थिए । संघले माघ ८ देखि ११ गतेसम्म पोखराको याम्दीमा गरेको अनुगमनमा थुप्रै भारतीय गाडी विना रुट परमिट र भन्सार प्रक्रिया पूरा नगरी मुस्ताङतर्फ गएको भेटिएको थियो । सोही क्रममा साढे २ सयभन्दा बढी भारतीय गाडी मुस्ताङ पुगेको तथ्यांक व्यवसायीले संकलन गरेका थिए । प्रशासनको पछिल्लो निर्देशन प्रभावकारी कार्यान्वयन भएमा राज्यको राजस्व गुम्नबाट बच्ने र यात्रु सुरक्षित हुने व्यवसायीको विश्वास छ ।