पोखरा , ११ माघ २०८२।
राष्ट्रिय सभा सदस्यका लागि आइतबार भएको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार निर्वाचित भएका छन्।
निर्वाचन आयोगले सातै प्रदेशमा भएको निर्वाचन परिणाम सार्वजनिक गरेको छ। जसमा तीन पार्टीको गठबन्धनबाट चुनाव लडेका उम्मेदवार निर्वाचित भएका हुन्।
कोशी प्रदेशबाट एमालेकी रोश्नी मेचे र सोमनाथ पोर्तेल तथा कांग्रेसका सुनिलबहादुर थापा निर्वाचित भएका छन्। त्यस्तै, मधेस प्रदेशबाट एमालेकी रेखाकुमारी झा, कांग्रेसका धर्मेन्द्र पासवान र रन्जित कर्ण तथा जसपा नेपालको तर्फबाट लोकतान्त्रिक समाजवादीका महन्थ ठाकुर निर्वाचित भएका हुन्। जसपा र लोसपाबीच एकीकरण भएपछि ठाकुर उम्मेदवार बनेका थिए।
बागमती प्रदेशबाट कांग्रेसकी गीता देवकोटा र एमालेका प्रेमप्रसाद दंगाल निर्वाचित भएका छन्। यस्तै, एमालेकी सम्झना देवकोटा र कांग्रेसका जगत तिमिल्सिना गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनेका छन्।
लुम्बिनीबाट कांग्रेसका वासुदेव घिमिरे र चन्द्रबहादुर केसी तथा कर्णालीबाट एमालेकी मीनासिंह रखाल र कांग्रेसका ललितजंग शाही निर्वाचित भएका छन्। सुदूरपश्चिम प्रदेशबाट एमालेकी लिलाकुमारी भण्डारी र कांग्रेसका खम्मबहादुर खाती राष्ट्रिय सभा सदस्य बनेका छन्।
आगामी फागुन ११ बाट रिक्त हुने राष्ट्रिय सभाका १९ मध्ये १८ सांसदका लागि निर्वाचन भएको हो। एक जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नेछन्।
यस्तो छ आयोगले सार्वजनिक गरेको अन्तिम परिणाम
गण्डकीमा निर्वाचित सदस्यहरु
राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार जगत तिमिल्सिना र नेकपा (एमाले) की उम्मेदवार सम्झना देवकोटा निर्वाचित हुनुभएको छ ।
आइतबार साँझ भएको मतगणनाको परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार तिमिल्सिना पाँच हजार ३३ मतभारसहित विजयी बन्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का कपिल लामाले नौ सय ४१ मतभार पाउनुभएको छ ।
राष्ट्रिय जनमोर्चाका उम्मेदवार शंकरप्रसाद बरालले ७६ मतभार पाउनुभयो । तिमिल्सिनालाई ४८ प्रदेशसभा सदस्य र एकसय ३१ स्थानीय तहका प्रमुख–उपप्रमुखले मत हाल्नुभएको छ ।
यसपालिको राष्ट्रियसभा चुनावमा नेकपा (एमाले) र नेपाली कांग्रेसले गठबन्धन गरी संयुक्त उम्मेदवारी दिएका छन् । महिला समूहबाट नेकपा (एमाले) की उम्मेदवार सम्झना देवकोटा विजयी बन्नुभयो । देवकोटाले पाँच हजार १४ मतभार पाउँदा उहाँकी प्रतिस्पर्धी गोमा लुइँटेल घिमिरेले नौ सय ४१ मतभार पाउनुभयो । राष्ट्रिय जनमोर्चाबाट सोही पदकी उम्मेदवार लक्ष्मी बास्कोटाको भागमा ७६ मतभार परेको छ ।
देवकोटाले प्रदेश सभातर्फ ४८ मत र स्थानीय तहतर्फ एकसय ३० मत जनाले मतदान गरेको पाइएको छ । अन्य समूहमा दुई प्रदेशसभा सदस्य र एक पालिकाका प्रतिनिधि र महिलामा दुई जना प्रदेश सांसद र दुई स्थानीयका तह जनप्रतिनिधिको मत बदर भएको छ ।
प्रजातन्त्रवादी प्राध्यापक सङ्घका पूर्व केन्द्रीय अध्यक्षसमेत रहनुभएका तिमिल्सिना तनहुँको शुक्लागण्डकी नगरपालिका वडा ७ का बासिन्दा हुनुहुन्छ । गोरखा नगरपालिका वडा ३, नारेश्वरकी स्थायी बासिन्दा देवकोटा अघिल्लो राष्ट्रियसभा निर्वाचनमा समेत सोही पदकी उम्मेदवार हुनुहुन्थ्यो । उहाँ गोरखा नगरपालिकामा २०७४ मा उपप्रमुख र २०७९ मा प्रमुखमा पराजित हुनुभएको थियो ।
गण्डकी प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नारायणकाजी श्रेष्ठ र एमालेकी भगवती न्यौपानेको कार्यकाल सकिन लाग्दा यहाँ चुनाव भएको हो । आइतबार भएको मतदानमा गण्डकी प्रदेशमा दुईसय २३ जना सहभागी हुनुभयो । स्थानीय तहका प्रमुख–उपप्रमुख गरी एकसय ६६ जना र प्रदेशसभाका ५७ जनाले मत हालेको प्रदेश निर्वाचन कार्यालय गण्डकीले जनाएको छ ।
गण्डकीको ६० सदस्यीय प्रदेश सभामा एक स्थान रिक्त छ । ५९ प्रदेशसभा सदस्यमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दुई प्रदेशसभा सदस्यले मत हाल्नु भएन । राप्रपाले राष्ट्रियसभा चुनावमा भाग नलिने निर्णय गरेको छ । प्रदेशका ८५ स्थानीय तहका एक सय ७० प्रमुख–उपप्रमुखमध्ये तीन जना आइतबार अनुपस्थित हुनुभयो ।
स्याङ्जाको वालिङ नगरपालिकाकी उपप्रमुख कविता तिवारी विदेशमा हुनुहुन्छ भने स्याङ्जाकै कालिगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापामगरले राजीनामा दिइसक्नुभएको छ । उहाँ आउँदो प्रदेशसभा निर्वाचनमा एमालेबाट स्याङ्जा २ का उम्मेदवार हुनुहुन्छ ।
मनाङको नार्पाभूमी गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामा पनि मतदान गर्न आउनु भएन । नेकपा (एमाले) बाट निर्वाचित ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवबहादुर नेपालीले अहिले पुर्पक्षका लागि जेलमा भएकाले मत हाल्न आउन पाउनु भएन ।
राष्ट्रियसभामा प्रदेश सांसदको मतभार ५३ र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १९ तोकिएको छ । गण्डकीमा कांग्रेसका सांसद २७ जना र स्थानीय तह प्रमुख र उपप्रमुख गरी ६६ जना छन् । गण्डकीमा एमालेका सांसद २२ जना छन् ।
स्थानीय तहमा प्रमुख र उपप्रमुखमा गरी ७० जना एमालेबाट निर्वाचित जनप्रतिनिधि छन् । यहाँ नेकपाका प्रदेश सांसद सात जना र स्थानीय तह प्रमुख तथा उपप्रमुख गरी ३१ जना छन् । गण्डकीमा जनमोर्चाका सांसद नरहे पनि स्थानीय तहमा तीन प्रमुख–उपप्रमुख छन् ।