पोखरा , ११ माघ २०८२।
सार्वजनिक जग्गा खाली गराउने क्रममा एक जनाको मृत्यु भए पछि आज सिरहाको पर्याकपुर गाउँ तनाबग्रस्त बनेको छ।
सिरहाको कर्जन्हा नगरपालिका–१०, पर्याकपुर गाउँमा सार्वजनिक जग्गामा बनेको संरचना खाली गराउने क्रममा स्थानीय अजमुदिन शेखको मृत्यु भएपछि पर्याकपुर गाउँ तनाबग्रस्त बनेको हो । अहिले स्थानीय बासिन्दाले पूर्व–पश्चिम रामजमार्ग अवरुद्ध गरिरहेका छन् ।
करिब तीन दशकदेखि उक्त ऐलानी जग्गामा बस्दै आएका अजमुदिन शेखले भौतिक संरचना बनाउन शुरु गरे पछि आइतबार दिउँसो उक्त सक्त कार्य रोक्न पुगेको प्रहरीसंगको धक्कामुक्कीका क्रममा उनको मृत्यु भएको प्रहरीको जिकिर छ।
जिल्ला प्रहरी कार्यालय, सिरहाका डीएसपी रमेश पालका अनुसार, सो ठाउँका एक व्यक्तिले बनाउन लागेको संरचनाले असर पर्ने भन्दै स्थानीयले अदालतमा रिट दायर गरेका थिए । अदालतले पनि सार्वजनिक जग्गामा संरचना बन्न नदिनू भनेर आदेश दिएको थियो । अदालतको आदेश अस्वीकार गरेपछि आफूहरू आइतबार दिउँसो जग्गा संरचनाका लागि पुगेको उनले बताए ।
‘सार्वजनिक स्थलमा एकजना मान्छेले भौतिक संरचना बनाउँदै गरेको भनेर पटकपटक गुनासो आयो । सरकारी जग्गामा भौतिक संरचना निर्माण गरेपछि आफ्नो घरतिर जाने बाटो छेकिन्छ भन्ने कुरा स्थानीयले अदालतमा मुद्दा हालेका थिए,’ डीएसपी पालले भने, ‘अदालतले सार्वजनिक जग्गामा भौतिक संरचना निर्माण गर्न नदिनू भनेर आदेश दिएको थियो । आदेश दिएर पनि ती व्यक्तिले नमानेपछि प्रहरीको नाममा अदालतले निर्णय कार्यान्वयन गराउनू भनेर पत्र काटेको थियो । प्रहरी गएर आज सम्झाइबुझाइ गरेर फर्कंदा त्यो मान्छे लडेको अवस्था हो ।’
अहिले त्यहाँ स्थानीयले राजमार्ग नै अवरुद्ध पारेर प्रदर्शन गरिरहेका छन् । प्रहरीले जबरजस्ती जग्गा खाली गराउने क्रममा मृत्यु भएको पीडित पक्षको आरोप छ ।
केही छिमेकी व्यक्तिहरूले प्रहरी प्रशासनलाई रकमको प्रलोभनमा पारेर शेखलाई जग्गाबाट हटाउन खोज्दा धक्का–मुक्की भएको र सोही क्रममा उनको मृत्यु भएको स्थानीयको आरोप छ ।
तर जग्गा खाली गराउने विषयमा आफूलाई प्रहरी वा अदालतबाट कुनै पत्र नआएको र जानकारी समेत नभएको सो नगरपालिकाका प्रमुख भोला पोखरेलले बताए ।
‘जग्गाको विषयमा नगरपालिकालाई जानकारी गराउनुपर्थ्यो । मलाई कुनै जानकारी छैन,’ उनले भने । त्यस्तै, वडाध्यक्ष सागिर मिया शेखले पनि यसबारे आफूलाई प्रशासनले कुनै जानकारी नगराएको बताए ।