पोखरा , ११ माघ २०८२।
पर्वतारोहण र ट्रेकिङ क्षेत्रमा भएको नक्कली उद्धारमा संलग्न रहेको आरोपमा प्रहरीले विभिन्न तीन वटा ट्राभल कम्पनीका छ जना सञ्चालकहरुलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा माउन्टेन रेस्क्युका सञ्चालक तथा अध्यक्ष जयराम रिमाल र प्रबन्धक विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका सञ्चालक तथा अध्यक्ष रविन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेकराज थपलिया, एभरेस्ट एक्स्पेरेन्स एन्ड एसिस्टका सञ्चालक तथा प्रबन्ध निर्देशक मुक्ति पाण्डे र सुभास केसी रहेका छन् ।
उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी को टोलीले पक्राउ गरेको हो । उनीहरुले पर्यटक उद्धारको नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको प्रहरीको दाबी छ।
माउन्टेन रेस्क्यू सर्भिस प्रालिले गरेको एकहजार दुई सय ४८ जना उद्धारहरु मध्ये एकसय ७१ जनाको नक्कली उद्धार गरेको पाइएको सीआईबीका प्रमुख एआईजी मनोज केसीले जानकारी दिए। एआइजी कसीले उक्त कम्पनीले १० करोड बढी अमेरिकी डलर बीमा दाबी गरेको पाइएको बताए ।
नेपाल चार्टर सर्भिस प्रालिले चार सय ७१ जनाको उद्धार गरेकोमा ७५ जनाको नक्कली उद्धार र उनीहरूले ८२ लाख डलर माग दाबी गरेको सीआईबीले जनाएको छ ।
एभरेस्ट एक्सपिरियन्स एण्ड एसिस्टेन्स प्रालिले ६०१ जनामध्ये ७१ पर्यटकको नक्कली उद्धार गरेको र उनीहरूले यसबापत ११ लाख ५३ हजार अमेरिकी डलर माग दाबी गरेको उनको भनाइ छ ।
उनीहरुले अधिकांश लुक्लाबाट नक्कली उद्धार गरेको केसीले बताए । सीआईबीले दुई हजार भन्दा बढी रेस्क्युको अनुसन्धान गरेको थियो ।