पर्वतस्थित माता पाथिभरा सहकारीको हिनामिना गरेको रकम फिर्ता गर्न प्रहरीले दियो सातदिने अल्टिमेटम

पर्वतस्थित माता पाथिभरा सहकारीको हिनामिना गरेको रकम फिर्ता गर्न प्रहरीले दियो सातदिने अल्टिमेटम


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १० माघ २०८२
  • 3.5K
    Shares

जिल्ला प्रहरी कार्यालय पर्बत

पोखरा , १० माघ २०८२।

पर्वतस्थित माता पाथिभरा बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना र ठगी प्रकरणमा संलग्न व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय पर्वतले ७ दिनभित्र रकम फिर्ता गर्न निर्देशन दिएको छ। प्रहरीले माघ ८ गते एक सूचना जारी गर्दै सहकारी ऐन विपरीत ऋण प्रवाहमा संलग्न व्यक्ति, काल्पनिक कारोबार गरी लाभ लिने सेयर सदस्य र ऋण नतिरेका ऋणीहरूलाई आगामी माघ १४ गतेभित्र रकम बुझाउन अल्टिमेटम दिएको हो। तोकिएको समयभित्र रकम दाखिला नगरेमा उनीहरूमाथि कानुन बमोजिम कडा कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ।

सकुन्तला श्रेष्ठ समेतको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी किशोर श्रेष्ठ समेत भएको सहकारी ठगी सम्बन्धी कसुरको मुद्दाका सन्दर्भमा प्रहरीले पुरक अनुसन्धान अगाडि बढाएको छ।

पर्वत जिल्ला अदालतको आदेश बमोजिम वित्तीय विश्लेषकले पेस गरेको विस्तृत वित्तीय विवरण सहितको प्रतिवेदन २०८२ का आधारमा यो कदम चालिएको अनुसन्धान अधिकृत एवं प्रहरी निरीक्षक राजन कुमार पटेलले जानकारी दिए।

उक्त प्रतिवेदन अनुसार सहकारी ऐनले निषेध गरेका व्यक्तिहरू ऋणका नाममा रकम निकासी गर्न संलग्न रहेको र शेयर सदस्यहरूले काल्पनिक कारोबार तथा सहकारीको आय हिनामिना गरी व्यक्तिगत लाभ लिएको देखिएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय पर्वतको निर्देशन बमोजिम भइरहेको पुरक अनुसन्धानका क्रममा सहकारीलाई हानि नोक्सानी पुर्‍याउने व्यक्तिहरूको पहिचान भइसकेको प्रहरीले जनाएको छ।

सहकारी संस्थामा हाल रहेका सेयर सदस्य, निष्कासित भइसकेका सेयर सदस्य तथा ऋणका नाममा रकम निकासीमा संलग्न व्यक्तिहरूले माघ १४ गतेभित्र जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखामा सम्पर्क गर्नुपर्नेछ। उनीहरूले आफ्नो नाममा देखिएको कैफियत रकमका बारेमा जानकारी लिई उक्त रकम तत्काल भुक्तान गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ।

सहकारीलाई बुझाउनुपर्ने दायित्व रहेका व्यक्तिहरूले माता पाथिभरा बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको ‘गरिमा विकास बैंक’ कुश्मा शाखामा रहेको चल्ती खाता नम्बर ०१२००१००७४२३२२०००००१ मा रकम दाखिला गर्नुपर्नेछ। बैंकमा रकम जम्मा गरेपछि त्यसको भौचर वा दाखिला प्रमाण प्रहरी समक्ष पेस गर्नुपर्ने व्यवस्था गरिएको छ। यदि कसैको सहकारीको आफ्नै बचत खातामा रकम सञ्चित रहेको भए उक्त रकम मिलान गरी सोको प्रमाण पेस गर्न समेत प्रहरीले बाटो खुला गरिदिएको छ।

अनुसन्धान अधिकृत पटेलका अनुसार सहकारीको रकम हिनामिना गरी लाभ लिने तर दायित्व भुक्तान नगर्ने कार्यले संस्थालाई ठूलो हानि पुगेको छ। ‘सहकारीको रकम हिनामिना गर्ने र ऋणी सदस्यहरूले दायित्व पूरा नगर्दा सर्वसाधारणको बचत जोखिममा परेको देखिएको छ, त्यसैले पुरक अनुसन्धानमार्फत रकम असुलीलाई प्राथमिकता दिइएको हो,’ पटेलले बताए। तोकिएको ७ दिनको म्यादभित्र रकम दाखिला नगर्ने वा प्रमाण पेस नगर्नेहरूलाई सहकारी ठगी मुद्दाको पुरक अनुसन्धानमा समावेश गरी कानुनी प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

प्रतिक्रिया