मनाङमा रास्वपा उम्मेदवारको दिनभर मोबाइल स्विच अफ : निर्धारित समयभन्दा झन्डै चार घन्टा ढिला निर्वाचन अधिकृतको कार्यालय पुगे

मनाङमा रास्वपा उम्मेदवारको दिनभर मोबाइल स्विच अफ : निर्धारित समयभन्दा झन्डै चार घन्टा ढिला निर्वाचन अधिकृतको कार्यालय पुगे


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ७ माघ २०८२
  • 9.4K
    Shares

पोखरा, ७ माघ २०८२।

दिनभर मोबाइल स्विच अफ गरेर बसेका मनाङका रास्वपा उम्मेदवार अनिल गुरूङले निर्धारित समयभन्दा झन्डै चार घन्टा ढिला पुगेका छन।

सोमबार साँझ साढे ५ बजे पार्टीको केन्द्रीय कार्यालयबाट उम्मेदवारीको टिकट लिएर हिडेका उम्मेदवार अनिल गुरूङ निर्धारित समयभन्दा झन्डै चार घन्टा ढिला राति ८ बजेर ४५ मिनेटमा मात्र मनाङको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका हुन्। उनी उम्मेदवारी दर्ता गर्ने समयभन्दा पछि पुगेको भन्दै निर्वाचन अधिकृतको कार्यलयले उनको उम्मेदवारी दर्ता नगरेको प्राप्त समाचारमा जनाइएको छ।

आफु निर्बाचन अधिकृतको कार्यालयमा समयमा नै नपुग्नाको कारण भने पिअदादायक रहेको बताएका छन्। उनले भने, ‘पार्टी कार्यालयले मलाई सोमबार साँझ साढे ५ बजे उम्मेदवारीको टिकट दिएको थियो। सबै प्रक्रिया पूरा गरेर निस्किँदा सवा ६ भइसकेको थियो। म सोमबार राति नै मनाङ आउँछु भनेर निस्किएको थिएँ, तर गाडी पाइनँ।’

सोमबार गाडी नपाएपछि उनी काठमाडौं स्वयम्भूस्थित ठूलो भर्‍याङको आफ्नै डेरामा फर्किए।

मंगलबार बिहान साढे ४ बजे नै आउने गरी एउटा कम्पनीको गाडी रिजर्भ गरेका थिए, तर त्यो गाडीले एक घन्टा ढिला गरिदिएको उनी बताउँछन्।

‘बिहान साढे ४ बजे आइपुग्ने भनेको गाडी साढे ५ बजे मात्र आइपुग्यो। घरबाट निस्कँदा पौने ६ बजेको थियो,’ उनले भने, ‘तनहुँको डुम्रे पुगेपछि गाडी बिग्रियो। त्यहाँ झन्डै २ घन्टाजति बस्दा पनि गाडी बन्ने छाँट देखिएन।’

उनले अगाडि भने, ‘त्यसपछि गोरखाबाट एउटा गाडी बोलाएर म डुम्रेबाट अगाडि बढेँ। यहाँ आइपुग्दा राति पौने ९ बज्यो।’

उनले बाटोको बेलीविस्तार लगाएपछि हामीले सोध्यौं, ‘उम्मेदवारले आफै पुग्न नसकेको अवस्थामा वारेसनामा पठाएर पनि मनोनयन दर्ता गर्न सकिन्छ नि?’

यसको जबाफमा अनिलले भने, ‘सकिन्छ, तर मेरो मोबाइल बाटोमै स्वीच अफ भयो। मैले कसैसँग सम्पर्क नै गर्न पाइनँ।’

‘दिउँसोसम्म सिडिओसँग कुराकानी भइरहेको थियो। मोबाइल अफ भएपछि सम्पर्क टुट्यो,’ उनले अगाडि भने, ‘त्यसपछि समयमा पुग्ने प्रयास गर्दा पनि सकिएन। ठाउँ ठाउँमा बाटो बनाइँदै गरेकाले पनि ढिलो भयो।’

पौने ९ बजे मनाङ पुगेपछि स्थानीयको घरमा मोबाइल चार्ज गरेर सिडिओ र निर्वाचन अधिकृतलाई सम्पर्क गर्ने प्रयास गरिरहेको गुरूङले बताए।

‘अहिले उहाँहरू दुवै जनाले फोन उठाउनुभएको छैन,’ उनले भने।

निर्वाचन आयोगले मनोनयन दर्ताका लागि निर्धारित समयभित्र निर्वाचन अधिकृतको कार्यालय प्रवेश गरेको खण्डमा मात्र मनोनयन दर्ता गर्छ। समयमै नपुग्दा अनिल यसपालि रास्वपाबाट टिकट पाए पनि उम्मेदवार बन्नबाट वञ्चित भएका छन्।

प्रतिक्रिया