अमेरिकाले लगायो आप्रवासी भिसामा नेपाललगायत ७५ देशका नागरिकलाई अस्थायी रोक

अमेरिकाले लगायो आप्रवासी भिसामा नेपाललगायत ७५ देशका नागरिकलाई अस्थायी रोक


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १ माघ २०८२
  • 4.1K
    Shares

पोखरा , १ माघ २०८२।

अमेरिकी विदेश मन्त्रालयले आगामी २१ जनवरीदेखि लागू हुने गरी नेपाल लगायत ७५ देशका नागरिकहरूका लागि आप्रवासी भिसा प्रक्रियामा अस्थायी रोक लगाएको छ ।

विदेश मन्त्रालयले आफ्नो स्क्रिनिङ र जाँचका मापदण्डहरू पुनरावलोकन नगरेसम्म कन्सुलर अधिकारीहरूलाई विद्यमान कानुनी अधिकार प्रयोग गर्दै भिसा अस्वीकार गर्न निर्देशन दिएको हो । यो स्थगन अनिश्चितकालका लागि रहने र पुनरावलोकन सकिएपछि मात्र हटाइने मन्त्रालयले जनाएको छ ।

यो कदम आप्रवासीहरू अमेरिका आएपछि सरकारी सुविधामा निर्भर हुन सक्ने सम्भावनालाई रोक्न र सम्बन्धित कानुनहरूको कार्यान्वयनमा कडाइ गर्न चालिएको पनि विदेश मन्त्रालयले जनाएको छ ।

आप्रवासीहरू अमेरिका पुगेपछि स्वास्थ्य, आवास र खाद्य जस्ता सरकारी सुविधामा निर्भर हुन सक्ने अर्थात् ‘पब्लिक चार्ज’ (Public Charge) बन्न सक्ने सम्भावनालाई दृष्टिगत गर्दै यो कदम चालिएको हो। हालै नेपालबाट ‘एक्स्ट्राअर्डिनरी’ विधा अन्तर्गत ग्रीनकार्ड पाएका एक कलाकारले आफ्नो परिवारको निःशुल्क स्वास्थ्य उपचारका लागि ग्रीनकार्ड लिएको भनी सार्वजनिक अभिव्यक्ति दिएका थिए।

सामान्यतया एक्स्ट्राअर्डिनरी ग्रीनकार्ड पाउने व्यक्तिहरू सरकारी सुविधामा आश्रित नहुने विश्वासका साथ अमेरिकाले उनीहरूलाई भिसा दिने गर्दछ। नेपालीहरूका यस्तै गैरजिम्मेवार व्यवहारका कारण अब आप्रवासी भिसामा अमेरिका जान चाहने अन्य योग्य नेपालीहरूलाई समेत नकारात्मक असर परेको छ।

यो निर्णय नेपाललगायत बंगलादेश, अफगानिस्तान, पाकिस्तान, भुटान, ब्राजिल, थाइल्यान्ड, यमन, इरान, इराक, नाइजेरिया लगायतका ७५ देशका लागि लागू गरिएको हो ।

नयाँ निर्देशिका अनुसार अब भिसा अधिकारीहरूले आवेदकको उमेर, स्वास्थ्य अवस्था, आर्थिक स्रोत, अंग्रेजी भाषाको ज्ञान र दीर्घकालीन चिकित्सा उपचारको आवश्यकता जस्ता पक्षहरूको सुक्ष्म मूल्याकंन गर्नेछन्।

सूचीमा रहेका देशहरू निम्नानुसार छन् ।

अफगानिस्तान, अल्बानिया, अल्जेरिया, एन्टिगुवा र बारबुडा, आर्मेनिया, अजरबैजान, बहामास, बंगलादेश, बार्बाडोस, बेलारुस, बेलिज, भुटान, बोस्निया, ब्राजिल, बर्मा, कम्बोडिया, क्यामरुन, केप भर्डे, कोलम्बिया, कोटे डी आइभोरी, क्युबा, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, डोमिनिका, इजिप्ट, इरिट्रिया, इथियोपिया, फिजी, गाम्बिया, जर्जिया, घाना, ग्रेनाडा, ग्वाटेमाला, गिनी, हाइटी, इरान, इराक, जमैका, जोर्डन, कजाकिस्तान, कोसोभो, कुवेत, किर्गिस्तान, लाओस, लेबनान, लाइबेरिया, लिबिया, म्यासेडोनिया, मोल्डोभा, मंगोलिया, मोन्टेनेग्रो, मोरक्को, नेपाल, निकारागुआ, नाइजेरिया, पाकिस्तान, गणतन्त्र कङ्गो, रुस, रुवाण्डा, सेन्ट किट्स एण्ड नेभिस, सेन्ट लुसिया, सेन्ट भिन्सेन्ट एण्ड ग्रेनाडिन्स, सेनेगल, सिएरा लियोन, सोमालिया, दक्षिण सुडान, सुडान, सिरिया, तान्जानिया, थाइल्याण्ड, टोगो, ट्युनिसिया, युगान्डा, उरुग्वे, उज्वेकिस्तान र यमन रहेका छन्।

प्रतिक्रिया