पोखरा , २९ पुष २०८२।
नेपाली कांग्रेसमा देखिएको विवाद समाधानका लागि भएको त्रिपक्षीय बैठक दिउँसो बस्ने गरी हालका लागि टुंगिएको छ ।
पार्टीभित्र एक पक्षले विशेष महाधिवेशन आह्वान गरेर जारी राखेको छ भने अर्को पक्षले विशेष महाधिवेशनलाई स्वीकार्न तयार भएको छैन । पार्टीमा सहमति खोज्नका लागि विहानदेखि तीन पक्षका नेताहरु संवादमा जुटेका थिए । वार्तामा सहभागी विशेष महाधिवेशन पक्षधर नेता गुरुराज घिमिरेले विषय प्रवेश मात्रै भएको जानकारी गराए ।
पार्टीको विवाद मिलाउन संस्थापन र विशेष महाधिवेशन पक्षबीच भएको पहिलो चरणको छलफल सकारात्मकरुपमा टुंगिएको हो। छलफलमा सहभागी नेता रमेश लेखकले छलफल सकरात्मक र सौहार्दपूर्ण भएको बताए।
स्रोतका अनुसार पार्टीको संस्थापन पक्ष विशेष महाधिवेशनको स्वामित्व लिन तयार भएको छ। ‘विशेष महाधिवेशनको स्वामित्व लिन संस्थापन पक्ष तयार छ। विशेष महाधिवेशनबाट भएका व्यवहारिक नीतिगत निर्णयलाई पार्टीले स्वीकार्छ ,’ स्रोतले भन्यो।
विशेष महाधिवेशनको स्वामित्व लिँदा पुस १८ मा केन्द्रीय कार्यसमिति बैठकबाट भएको निर्णय आज बस्ने केन्द्रीय कार्यसमिति बैठकले उल्ट्याउने छ। ‘केन्द्रीय समिति बैठकले पुस १८ मा केन्द्रीय कार्यसमिति बैठकबाट विशेष महाधिवेशनको औचित्य समाप्त भएको भनेर गरेको आफ्नो निर्णय उल्ट्याउनुपर्ने छ। त्यसका लागि आज दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्दै छ।
आसन्न निर्वाचनमा वितरण हुने टिकटमा कार्यवाहक सभापतिको हस्ताक्षर हुने व्यवस्था मिलाउनुपर्ने उनीहरूको दोस्रो सर्त छ। कांग्रेसले सभापति देउवाको हस्ताक्षर चल्ने निर्णय गरेको छ भने वर्तमान नेतृत्वको हस्ताक्षर भएको टिकट लिएर चुनाव नलड्ने महामन्त्री थापाले घोषणा गरेको अवस्था छ। यसमा विशेष महाधिवेशन पक्ष लचक हुने संस्थापन पक्षको बुझाइ छ।
आसन्न निर्वाचनमा महामन्त्री गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सार्न संस्थापन पक्ष तयार हुँदा सहमति गर्न सकिने महामन्त्रीद्वयको तेस्रो प्रस्ताव छ। संस्थापन पक्ष नीतिगत कुरालाई ग्रहण गर्न लचिलो देखिए पनि दोस्रो र तेस्रो प्रस्तावमा सहजै सहमति हुने स्थिति नदेखिएको नेताहरूको भनाइ छ।
यस्तै, आसन्न निर्वाचनमा टिकट वितरण गर्दा आफ्नो पक्षलाई ४० प्रतिशत हिस्सा दिने गरी पार्टीभित्रको शक्ति सन्तुलनको ग्यारेन्टी गर्नुपर्ने चौथो प्रस्ताव छ। १४ औँ महाधिवेशनपछि नेता शेखर कोइराला र महामन्त्री थापा पक्षले ४० प्रतिशत हिस्सा पाउँदै आएको थियो।
विशेष महाधिवेशनमा बहुमत प्रतिनिधि आफ्नो पक्षमा उभिएको भन्दै ४० प्रतिशत हिस्सामा अब दुई महामन्त्रीको हक स्थापित हुनुपर्ने उनी पक्षीय नेताहरू बताउँछन्। महामन्त्रीका सबै प्रस्ताव स्वीकार गर्न नसकिने भए पनि दुवै पक्षले जितेको अनुभूति हुने गरी सहमति खोजी भइरहेको संस्थापन पक्षका नेताहरू बताउँछन्।
मंगलबार बिहान साढे ८ बजेबाट साढे ११ बजेसम्म लाजिम्पाटमा पार्टीभित्रको तीन पक्षका ८ जना नेताबीच संवाद भएको हो। छलफलमा सभापति शेरबहादुर देउवा पक्षीय नेता रमेश लेखक, बालकृष्ण खाण, नेता शेखर कोइराला पक्षीय सहमहामन्त्री जीवन परियार, नेता मीनेन्द्र रिजाल, महामन्त्रीद्वय पक्षीय नेता प्रदीप पौडेल, मधु आचार्य, गुरुराज घिमिरे र देवराज चालिसे सहभागी छन्।
सोमबार दिनभर सभापति देउवाको निवास महाराजगञ्जमा भएको छलफलमा संस्थापन पक्षले एकताका लागि लचिलो हुने निष्कर्ष निकालेको थियो। यता विशेष महाधिवेशन पक्षले संस्थापन पक्षसँग छलफलका लागि चार सदस्यीय वार्ता टोली बनाएको थियो।
कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइराला, रमेश लेखक र महामन्त्रीद्वयबीच भएको कुराकानीमा पार्टी एकतालाई ध्यानमा राखेर दुबै पक्ष आ-आफ्नो अडान पछाडि हट्न सहमत भएका थिए।