पोखरा , २९ पुष २०८२।
नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद समाधान गर्न अहिले पार्टी सभापति शेरबहादुर देउवाको महाराजगञ्जस्थित निवासमा त्रिपक्षीय वार्ता जारी छ ।
छलफलमा देउवा समूहबाट रमेश लेखक र बालकृष्ण खाँण, गगन–विश्व समूहबाट प्रदीप पौडेल, देवराज चालिसे, गुरुराज घिमिरे र मधु आचार्य तथा शेखर कोइराला समूहबाट जीवन परियार र मीनेन्द्र रिजाल सहभागी रहेका छन् ।
नेपाली कांग्रेसमा देखिएको विवाद मिलाउन पार्टीका दुई पक्षबिच लाजिम्पाटमा वार्ता चलिरहँदा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भने विशेष महाधिवशेन स्थल भृकुटीमण्डप पुगेका छन्।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आह्वान गरिएको विशेष महाधिवेशनमा करिब ६२ प्रतिशत प्रतिनिधि सहभागी भएपछि संस्थापन समूह वार्तामा बस्न तयार भएको हो।
विशेष महाधिवेशन पक्षधरले पनि प्रदीप पौडेलको संयोजकत्वमा औपचारिक वार्ता समिति गठन गरेका थिए। यता, विशेष महाधिवेशन जारी रहेकै बेला संस्थापन पक्षले मंगलबार बिहान ११ बजे केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।
यही राजनीतिक किचलो टुंग्याउने उद्देश्यले पार्टी सभापति शेरबहादुर देउवाको महाराजगञ्जस्थित निवासमा त्रिपक्षीय छलफल शुरु भएको छ।
वार्ताबाट सहमति नजुटे विशेष महाधिवेशन पक्षधरले केन्द्रीय समिति बैठक बहिष्कार गर्ने तयारी गरेको जनाइएको छ। संस्थापनसमक्ष विशेष महाधिवेशन पक्षले आफ्ना मागहरू औपचारिक रूपमा अघि सारेको छ।
वार्ता समितिमा रहेका एक नेताका अनुसार विशेष महाधिवेशनको स्वामित्व पार्टीले लिनु पर्ने र त्यहाँ पारित दस्तावेजहरू तुरुन्त कार्यान्वयन हुनुपर्ने मुख्य माग छ। साथै, पूर्णबहादुर खड्कालाई पूर्ण रूपमा कार्यवाहक सभापतिका रूपमा काम गर्न दिइनुपर्ने, सभापति देउवाले पार्टीका हरेक निर्णयमा हस्तक्षेप गर्न नहुने माग पनि उठाइएको छ।
यसअघि विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संस्थापन पक्षसँग वार्ता गर्न चार सदस्यीय समिति गठन गरेका थिए।
कांग्रेसको केन्द्रीय कार्यसमितिले पार्टीको पन्ध्रौँ महाधिवेशन आगामी वैशाखमा गर्ने कार्यसूची बहुमतबाट पारित गरे पनि त्यसमा असहति जनाएका महामन्त्रीद्वय थापा र शर्माको अगुवाइमा पुस २७ देखि भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी छ।
सोमबार शुरु बन्दसत्रले देउवालाई हटाएर नयाँ सभापति चयन गर्ने कार्यविधिसमेत पारित गरिसकेको छ।
सुरुमा पुष २७ र २८ गतेका लागि भनिएको विशेष महाधिवेशन विभिन्न प्रतिवेदनमा छलफल जारी रहेकाले आजसम्मका लागि लम्बिएको हो।
महामन्त्रीद्वय थापा र शर्माले प्रस्तुत गरेको प्रतिवेदनमा छलफल जारी रहेको र नीतिगत निर्णयपछि निर्वाचन प्रक्रियासमेत अगाडि बढ्ने विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले जानकारी दिएका छन्।
विशेष महाधिवेशनमा सोमबार साँझसम्म ६३ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराइसकेको र दर्ता प्रक्रिया आज पनि जारी रहने उनको भनाइ छ।