पोखरा , २९ पुष २०८२।
नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरको जारी महाधिवेशनको बन्द सत्र आज बिहान ९ बजेबाट शुरु हुँदै गर्दा आजै कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक पनि आह्वान भएको छ ।
दोस्रो विशेष महाधिवेशन पुस २७ र २८ गतेका लागि आयोजना गरिएको भए पनि समय अभावका कारण कार्यतालिका संशोधन भएर मंगलबारसम्म लम्बिएको हो ।
सोमबार बन्दसत्र शुरु भएको र विभिन्न प्रतिवेदन उपरको छलफल लम्बिएकाले महाधिवेशनको कार्यतालिका संशोधन गरिएको दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले जानकारी दिए ।
आज महाधिवेशन प्रतिनिधिहरूको दर्ता निरन्तर रहने छ भने हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिको संख्या ७० प्रतिशत पुर्याउने तयारी छ । आजको बन्द सत्रमा निर्वाचन, अनुशासन, केन्द्रीय समिति लगायतका समिति भङ्ग गरिने छ ।
यता, नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको हो । पार्टी कार्यालयमा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र ७ वटै प्रदेशका सभापतिलाई सहभागी हुन निर्देशन दिइएको मुख्य सचिव कृष्ण पौडेलले बताए ।
विभाजनको संघारमा पुगेको नेपाली कांग्रेसभित्रको विवाद मिलाउन वार्ता समिति गठन भएको छ।
विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संस्थापन पक्षसँग वार्ता गर्न चार सदस्यीय समिति गठन गरेका हुन्। समितिमा नेताहरू प्रदीप पौडेल, गुरु घिमिरे, देवराज चालिसे र मधु आचार्य रहेका छन्।
संस्थापन पक्षबाट उपसभापति पूर्णबहादुर खड्का, रमेश लेखक र बालकृष्ण खाँण सहभागी हुनेछन्। भृकुटीमण्डपमा आइतबारदेखि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाईमा विशेष महाधिवेशनमा जारी छ।