पोखरा , २९ पुष २०८२।
बैतडीमा सोमबार भएको जिप दुर्घटनामा परेर चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
बैतडीको मोतिनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेरो जिप सोमबार बिहान करिब साढे १० बजेतिर पाटन नगरपालिका–८ साडीघाँटीस्थित जयपृथ्वी राजमार्गमा दुर्घटनाग्रस्त हुँदा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका हुन्।
उक्त दुर्घटनामा परेर सिगास गाउँपालिका–१ बस्ने २५ वर्षीय निशान्त बोहरा, २९ वर्षीय भानदेव भट्ट, डडेल्धुराकाे आलिताल गाउँपालिका–३ बस्ने १३ वर्षीय राकेश रावल र सिगास गाउँपालिका–१ गाध्या सेकी बस्ने २७ वर्षीया बसन्ती ऐरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जाेराकाअनुसार तीन जनाकाे घटनास्थलमै र गम्भीर घाइते ऐरीकाे डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हाे ।
सोही दुर्घटनामा परेर जिप चालक गणेश बिष्ट, बैतडी पाटन नगरपालिका–८ ज्याफू बस्ने २७ वर्षीया कमला बिष्ट, डडेल्धुराकाे आलिताल गाउँपालिका–५ बस्ने २५ वर्षीय बिरेन्द्र बोहरा, बैतडी सिगास गाउँपालिका–१ बस्ने २५ वर्षीया लालमती बोहरा, ४ वर्षीया बालिका प्रिन्सी ऐरी रहेका छन् । उनीहरूकाे डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।