काठमाडौँ, २८ पुष २०८२।
“शरीरको कुनै अङ्गमा खोट हुँदैमा जीवन निरर्थक हुँदैन”, कृत्रिम खुट्टाको सहायतामा यही पुस २२ गते करिब माइनस २५ डिग्री चिसोमा अन्टार्टिकाको माउन्ट भिन्सन आरोहण गरेर फर्किनुभएका हरि बुढामगरले भन्नुभयो, “म फरक क्षमता भएका मानिसलाई आफ्नो क्षमता चिनेर हरेक दिन सपनाको सगरमाथा चढ्न प्रेरित गर्छु । मेहनत गरे सफलता पाइन्छ भन्ने उदाहरण म आफैँ छु ।”
समुद्री सतहदेखि चार हजार ८९२ मिटर अग्लो माउन्ट भिन्सनको सफल आरोहण गरेसँगै पूर्व गोर्खासमेत रहनुभएका हरि बुढामगरले विश्वको सातै महादेशका अग्ला चुचुराको आरोहण पुरा गर्नुभएको छ ।
४६ वर्षअघि रोल्पाको दुर्गम गाउँ मिरुलमा जन्मिनुभएका हरि विश्व समुदायकै लागि एक साहसको पर्याय बन्नुभएको छ । रासससँग आफ्नो आरोहण अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “यो उपलब्धि प्राप्त गर्नु धेरै कठिन थियो । तीव्र हावा र कठ्याङ्ग्रिदो चिसोले मेरा औँला जमिरहेका थिए । मेरो अनुहारमा एक प्रकारको चिसोको जलन भइरहेको थियो ।
घरीघरी म आफैँ माथि शंका गर्थेँ । भगवानमा विश्वास नगर्ने म हामी सफल होऔँ भनेर मनमनै प्रार्थना गरिरहेको हुन्थेँ ।” बुढामगरले तिव्र गतिको हावा र त्यो चिसोले आफूलाई उचाइमा पुग्नबाट रोक्न सक्दैन भन्ने आत्मविश्वासले कठिन चुनौती पुरा गर्न सफल भएको बताउनुभयो ।
युद्धमै मृत्यु जितेर पुनर्जीवन पाएको स्मरण गर्दै उहाँले हरेक काममा चुनौती हुने तर त्यसलाई पार गर्न आत्मविश्वास आवश्यक हुने बताउनुभयो । निरन्तर र अथक प्रयासले मात्र यो सम्भव भएको उहाँको बुझाइ छ ।
“यो एक अद्भुत अनुभूति हो । म बयान गर्नैै सक्दिन कि हामीले यो कसरी सम्भव तुल्यायौँ । तर, सातै महादेशका उच्च सात शिखर सफलतापूर्वक आरोहण गरेका छौँ । म धेरै भावुक छु । अपाङ्गता भएको व्यक्तिको रूपमा मैले यो असम्भव काम सम्पन्न गरेको छु”, उहाँले भन्नुभयो, “हिमालको पानी पिएको नेपालीले गरेको यो कामले नेपालको शीर उँचो बनाउने काममा केही योगदान पक्कै गर्छ भन्ने लागेको छ । मलाई यो कामका लागि हौसला र निरन्तर सहयोग गर्ने सबैलाई मनैदेखि धन्यवाद दिन चाहन्छु ।”
मगरले यसअघि १९ मे २०२३ मा सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर), ८ जनवरी २०२० मा अफ्रिकाको तान्जानियास्थित माउन्ट किलिमन्जारो (५,८९५), २८ जुन २०२४ मा उत्तर अमेरिकाको अलास्कास्थित डेनाली (६,१९०), २२ फेब्रुअरी २०२५ मा दक्षिण अमेरिकाको अर्जेन्टिनास्थित एकोनकागुआ (६,९६१) को सफल आरोहण गर्नुभएको थियो । त्यसैगरी उहाँले न्यु गिनीको पुन्चाकजयु (४,८८४), १३ अगस्ट २०१९ मा फ्रान्सको मोन्ट ब्ल्याङ्क (४,८०९ मिटर) को सफल आरोहण गर्नुभएको र गत बुधबार अन्टार्टिकाको माउन्ट भिन्सनको सफल आरोहण गर्नुभएको हो ।
योसँगै उहाँले दुवै खुट्टाको घुँडामुनिको भाग गुमाएर पनि सातै महादेशका अग्लो चुचुरो आरोहण गर्ने नयाँ किर्तिमान बनाउनु भएको छ । सेभेन समिटको रूपमा रूसको माउन्ट एल्ब्रस (५६४२ मिटर) आरोहणसमेत समावेस गरिएको भएपनि यो अहिले पहुँच योग्य नभएका कारण उहाँले फ्रान्सको मोन्ट ब्ल्याङ्क आरोहण गर्नु भएको थियो । यसलाई गिनिज वल्र्ड रेकड्र्सले समेत मान्यता दिएको बताइएको छ ।
कृत्रिम खुट्टाको भरमा अन्टार्टिकाको माउन्ट भिन्सन चढेर नेपाली झण्डा फहराउनु भएका हरिले हरेक खतरा पार गरेपछि एक सुन्दर समय आउने उदाहरण विश्वसामु प्रस्तुत गर्नुभएको छ । माउन्ट भिन्सनमा पाइला टेक्दाको अनुभूति साट्दै उहाँले रासससँग भन्नुभयो, “आँखाले देखेजति क्षितिज सम्मै सबैतिर हिउँ नै हिउँ, यो चामत्कारिक र स्वर्गजस्तै लाग्थ्यो ।”
आफूलाई धेरै पटक यस्ता चुनौतीपूर्ण काम तपाईँ जस्ता व्यक्तिले गर्ने होइन भन्ने गरेको स्मरण गर्दै उहाँले भन्नुभयो, “तपाईंको शारीरिक अवस्थाकै कारण तपाईंलाई कसैले केही गर्न सक्दैन भन्छन् भने मलाई देखाउनुहोस÷हेर्नुहोस् ।” उहाँले आफ्नो यो सफलताले विश्वभर अपाङ्गता भएका व्यक्तिको जीवन परिवर्तनका लागि सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।