पोखरा, २५ पुष २०८२।
जेन जी आन्दोलनका क्रममा झुम्का कारागारबाट भागेका हिमाल सुरक्षा परिषद्का अध्यक्ष सञ्जय भनिने खगेन्द्र खरेल झापाबाट फेरि पक्राउ परेका छन्।
संघीयता खारेज, हिन्दुराष्ट घोषणा, नागरिकता छानबिन गर्नुपर्ने, भारत–चीन सिमा विवाद समाधान गरिनुपर्ने, एमसीसी सम्झौता खारेजलगायतको माग राखेर सशस्त्र संघर्षको घोषणा गरेको परिषद्का अध्यक्ष खरेल झापाबाट फेरि पक्राउ परेका हुन्।
कनकाई नगरपालिका–८ का स्थायी बासिन्दा खरेललाई झापा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बिहीबार साँझ नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।
सार्वजनिकस्थलमा पटक र पटक विस्फोटक पदार्थ राखेर सर्वसाधारणमा त्रास फैलाउँदै आएका खरेललाई गएको पुष १९ गते बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत माई खोला पुल नजिक सडकको उत्तरी भागमा प्रेसर कुकर बम राखेर त्रास फैलाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
२०८१ साल पुसमै सुनसरीको इटहरी उपमहानगरपालिका अगाडि शङ्कास्पद प्रेसर कुकर भेटिएपछि नेपाली सेनाको कालीशक्ति गणको बम डिस्पोजल टोलीले त्यसलाई निष्क्रिय पारेको थियो। सो घटनामा समेत खरेल पक्राउ परेका थिए।
त्यसैगरी, २०७८ साल चैतमा इटहरी–२ नवजागृति टोलस्थित एक कोठामा भएको बम विस्फोटमा रबिन थापा र शेरजङ्ग गुरुङ घाइते भएका थिए। उक्त घटनामा पनि खरेलको संलग्नता रहेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए। पक्राउ परेका खरेल उपर आज जिल्ला अदलत झापाबाट म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइने उनले बताए।
यही पुस १९ गते बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत माई खोला पुल नजिक सडकको उत्तरी भागमा शङ्कास्पद प्रेसर कुकर बम फेला परेपछि केही समय सवारी आवागमनसमेत ठप्प बनेको थियो। उक्त बमलाई नेपाली सेनाको अरिदमन गणको टोलीले सुरक्षित रूपमा निष्क्रिय पारेको थियो।
प्रहरीका अनुसार घटनास्थलबाट विस्फोटक सामग्रीसँगै ‘सनातन सुरक्षा सेना नेपाल’ लेखिएको पर्चा समेत बरामद गरिएको थियो।
प्रहरीका अनुसार दुई वर्ष पाँच महिना कैद सजाय भुक्तान गरी छुटेपछि खरेल पुनः विस्फोटक आतङ्कमा सक्रिय भएको पाइएपछि २०८१ साल चैतमा पक्राउ परेका थिए। उनी ‘जेनजी आन्दोलन’ का क्रममा सुनसरीको झुम्का कारागारमा कैद भुक्तान गरिरहेको अवस्थामा फरार रहेको तथ्य पनि खुलेको छ।
पछिल्ला केही वर्षयता बिर्तामोड र दमक क्षेत्रमा समेत बम राखेर त्रास फैलाउँदै आएको आरोप उनीमाथि लागेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।