आफ्नै मतदातालाई खुकुरी देखाएर धम्क्याउने पोखरा ३३ का वडाध्यक्ष अधिकारी पक्राउ

आफ्नै मतदातालाई खुकुरी देखाएर धम्क्याउने पोखरा ३३ का वडाध्यक्ष अधिकारी पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २५ पुष २०८२
  • 11.2K
    Shares

पोखरा, २५ पुष २०८२।

वडा कार्यालयमा तालाबन्दी गर्न आउने स्थानीय जनतालाई खुकुरी देखाएर धम्क्याउने पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारी पक्राउ परेका छन्।

पोखरा ३३ मा ल्याण्डफिल साइट बनाउन नहुने मागसहित वडा कार्यालयमा तालाबन्दी गर्न पुगेका स्थानीय बासिन्दालाई खुकुरी देखाएर धम्क्याउन खोजे पछि वडाध्यक्ष अधिकारीलाई प्रहरीले आज पक्राउ गरेको हो।

पोखरा महानगरपालिकाले पोखरा ३३, पुँडिटारमा निर्माण गर्न लागेको फोहोर प्रशोधन केन्द्रको बिरोध गरिरहेका स्थानीयले वडा कार्यालयअघि विरोध गरिरहँदा वडाध्यक्ष रामचन्द्र अधिकारीले खुकुरी प्रहारको प्रयास गरेका स्थानीय बासिन्दाहरुले बताएका छन्।

पोखरा महानगरले त्यहाँ फोहोर प्रशोधन केन्द्र निर्माणको सम्झौता गरेपछि स्थानीय शुक्रबार वडा कार्यालयमा तालाबन्दी गर्न पुगेका थिए ।

प्रदर्शनकारीमाथि वडा अध्यक्ष अधिकारी एक्कासि उनी खुकुरी नचाउँदै आएपछि उनलाई प्रहरीले पक्राउ गरेको छ । आक्रोशित प्रदर्शनकारीले वडा अध्यक्ष अधिकारीको गाडीमाथि ढुंगामुढा गर्दै तोडफोडसमेत गरेका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर ३३ को कार्यालय अगाडी स्थानीय बासिन्दाहरुसंग वडाध्क्ष अधिकारीको बिबाद भए पछि उनको सुरक्षाको लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता डिएसपी हरि बहादुर बस्नेतले जानकारी दिए। बिबादित स्थानबाट एउटा खुकुरी पनि बरामद भएको र उक्त खुकुरी कसको हो भन्ने बारेमा अनुसन्धान भैरहेको डिएसपी बस्नेतले बताए।

प्रतिक्रिया