पोखरा , २५ पुष २०८२।
प्रधानमन्त्री नियुक्त भए पछि शुरुवाती समयहरुमा राजनीतिक पार्टीका नेताहरुको नामै सुन्न नचाहने प्रधानमन्त्री सुशिला कार्कीले गएको भदौ २३ र २४ गते नेपालमा भएको जेन जी आन्दोलनमा दमन गरेको आरोप लागेका तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीसंग तीन घण्टासम्म एक्ला – एक्लै वार्ता गरेकी छिन्।
उच्चस्तरीय छानबिन आयोगलाई लिखित बयान दिए पश्चात स्थान हद हटाएर ओलीसंग जेन जी आन्दोलन दबाउनेहरुलाई तत्काल कानूनी कारबाही गर्ने कसम खाएर प्रधानमन्त्री बनेकी कार्कीले तीन घण्टासम्म एक्ला – एक्लै वार्ता हुनुलाई रहस्यमय ठानिएको छ।
प्रधानमन्त्री कार्कीलाई भेट्न आफ्ना स्वकीय सचिव राजेश बज्राचार्यलाई मात्रै लिएर ओली बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। दिउसो साढे २ बजेसम्म प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबिच कुराकानी भएको प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए। भेटवार्तामा फागुन २१ को निर्वाचन केन्द्रित छलफल भएको बताइएको छ ।
भेटमा विशेष त निर्वाचन केन्द्रित छलफलका लागि बालुवाटार पुगेका ओलीले त्यसबाहेक प्रधानमन्त्रीका श्रीमान् दुर्गा सुवेदीको स्वास्थ्य अवस्थाबारे समेत चासो राखेका थिए । त्यसक्रममा अध्यक्ष ओलीले प्रधानमन्त्री कार्कीसँग समग्र निर्वाचनको तयारी, अवस्था र सुरक्षाबारे चासो राखेका थिए । जवाफमा प्रधानमन्त्रीले सबै प्रबन्ध सरकारले मिलाएको र ढुक्क हुन आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यसै क्रममा एमाले निर्वाचन केन्द्रित गतिविधिमा सहभागी भएकोमा खुशी प्रकट गर्दै बदलिएको परिस्थितिमा पार्टीको महाधिवेशन समेत गरेर चुनौतीपूर्ण अवस्थामा पनि राजनीतिक गतिविधि गरेकोमा धन्यवाद दिएकी थिइन् । कार्कीसँगको संवादका क्रममा अध्यक्ष ओलीले निर्वाचनको वातावरण बनेको खण्डमा एमाले चुनावबाट नभाग्ने विश्वास दिलाएका थिए ।