कास्की कांग्रेसका सभापति बराल, उभिए बिशेष महाधिबेशनको पक्षमा : सहभागी हुन अपिल

कास्की कांग्रेसका सभापति बराल, उभिए बिशेष महाधिबेशनको पक्षमा : सहभागी हुन अपिल


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २४ पुष २०८२
  • 6.8K
    Shares

पोखरा , २४ पुष २०८२।

नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल पार्टीको बिशेष महाधिबेशनका पक्षमा उभिएका छन्।

पार्टीको केन्द्रीय कार्यालयले विशेष महाधिवेशन अवज्ञा गर्न निर्देशन दिएकै समयमा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले भने उक्त महाधिवेशनमा सक्रिय सहभागी हुन कार्यकर्तालाई अपिल गरेका हुन् ।

बरालले बिहीबार एक अपिल जारी गर्दै नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गतेका लागि आह्वान गरेको विशेष महाधिवेशनलाई समर्थन गर्दै उक्त बिशेष महाधिबेशनमा सहभागी हुन पनि अपिल गरेका छन्।

बरालले आफ्नो अपिलमा पार्टीलाई विधि र विधान अनुसार अगाडि बढाउन विशेष महाधिवेशन अपरिहार्य भएको उल्लेख गरेका छन्। उनले पार्टीको १५ औँ महाधिवेशन समयमा हुन नसकेको र विधान संकटमा परेको भन्दै विशेष महाधिवेशनलाई सफल बनाउन सबै महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरे ।

केन्द्रीय कार्यालयले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई केन्द्रित गर्नुपर्ने भन्दै अहिले विशेष महाधिवेशन गर्न नसकिने अडान राखेको छ । सभापति शेरबहादुर देउवा पक्षले यो कार्यक्रमलाई पार्टी हित विपरीत भन्दै सहभागी नहुन निर्देशन दिएको छ । तर महामन्त्रीद्वय थापा र शर्मा पक्षले भने विधानको मर्म अनुसार तोकिएको समयमा नियमित महाधिवेशन हुन नसकेपछि विशेष महाधिवेशन नै संकटमोचनको बाटो भएको दाबी गर्दै आएका छन् ।

विशेष महाधिवेशनका लागि काठमाडौँको भृकुटीमण्डपमा तयारी तीव्र पारिएको छ । यसका लागि १८ वटा विभिन्न उपसमितिहरू समेत गठन गरी काम अगाडि बढाइएको सचिवालयले जनाएको छ । जसमा व्यवस्थापन देखि जेन्जी युवा परिचालन सम्मका समितिहरू सक्रिय रहेका छन् । कास्की सभापति बरालले जिल्लाका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई उत्साहपूर्वक काठमाडौँ आउन आह्वान गरेपछि कांग्रेसभित्रको आन्तरिक ध्रुवीकरण थप प्रस्ट देखिएको छ ।

विशेष महाधिवेशन पक्षधरले स्थानीय प्रशासनलाई शान्ति सुरक्षाका लागि पत्राचार समेत गरिसकेका छन् । संस्थापन पक्षले महाधिवेशन रोक्न खोजे पनि आफूहरू विधान रक्षाका लागि उभिएको बरालको भनाइ छ । उनले विसं २०८२ पुस २८ भित्र १५ औँ महाधिवेशन हुनुपर्नेमा सो हुन नसक्दा विशेष महाधिवेशन नै निर्विकल्प विकल्प बनेको उल्लेख गरे ।

प्रतिक्रिया