खुल्यो निर्वाचन प्रहरीमा जागिर : यस्ता छन् योग्यता

खुल्यो निर्वाचन प्रहरीमा जागिर : यस्ता छन् योग्यता


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २४ पुष २०८२
  • 4.1K
    Shares

पोखरा , २४ पुष २०८२।

फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावका लागि एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरीको भर्ना प्रक्रिया शुरु भएको छ।

नेपाल प्रहरीले आज एउटा बिज्ञापनमार्फत एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरीको भर्ना प्रक्रिया शुरु भएको जनाएको छ। निर्वाचन प्रहरीमा भर्ना हुनका लागि शुक्रबारदेखि आवेदन दिन सकिने छ। 

निर्वाचन प्रहरीका लागि शुक्रबारदेखि ५ दिनसम्म आवेदन दिन सकिनेछ। त्यसपछि छनोट प्रक्रिया शुरु हुनेछ। आवेदन हरेक जिल्ला प्रहरी कार्यालयबाट दिन सकिनेछ। 

नेपाल प्रहरीले एक लाख ३३ हजार ९ सय ८० जना र सशस्त्र प्रहरीले १५ हजार  १ सय १० जना निर्वाचन प्रहरी भर्ना गर्नेछन्। तर छनोट प्रक्रिया भने संयुक्त रुपमै गरिनेछ। छनोट भइसकेपछि मात्रै सशस्त्र प्रहरी र नेपाल प्रहरीले आ–आफ्नो कोटा अनुसारको संख्यामा लगेर तालिम दिन सुरु गर्नेछन्। 

निर्वाचन प्रहरी छनोटका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा हरेक जिल्लामा सुरक्षा निकायहरु सम्मिलित समिति बन्नेछ। यसअघि म्यादी प्रहरी भनिँदै आएकोमा पहिलो पटक निर्वाचन प्रहरी भनेर नामाकरण गरिएको हो। 

निर्वाचन प्रहरीमा भर्ना हुन १८ वर्ष पूरा भएर ५४ वर्ष ननाघेको नेपाली नागरिक हुनु पर्नेछ। पूर्वसुरक्षाकर्मी, यसअघिका निर्वाचनमा म्यादी प्रहरीमा नियुक्त भएर खटिएका, छिमेकी देशका सुरक्षा निकायमा काम गरेर अवकाश भएका तथा सुरक्षा निकायमा शारीरिक र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरुले पनि प्रवेश पत्र पेस गरे निर्वाचन प्रहरीमा भर्ना हुन प्राथमिकता पाउनेछन्। 

फौजदारी कसुरमा सजाय पाई नैतिक पतन नभएको हुनुपर्ने मापदण्ड छ। छनोट भएकाहरुलाई १० दिन तालिम दिइनेछ। तालिम सकिएपछि एक महिना निर्वाचनमा खटाउने सरकारको तयारी छ। उनीहरुले ४० दिनको तलब पाउनेछन्। तलब प्रहरी जवानको सरह नै हुनेछ। 

यस्तै निर्वाचन प्रहरीको पोसाक, चार दिनको खाजा भत्ता, तयारी भत्ता र रासन नेपाल प्रहरी सरह नै पाउनेछन्। प्रहरीकै जस्तो जिल्ला अनुसार रासन भने फरक पर्नेछ। 

प्रतिक्रिया