पोखरा, २२ पुष २०८२।
मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोगले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन् ।
“नेपाली समाज सदियौंदेखि आपसी सद्भाव, सहिष्णुता र एक अर्काप्रति सम्मान कायम गर्दै विभिन्न जातजाति, भाषाभाषी, संस्कृति, धर्म एवं सम्प्रदाय एक आपसमा मिलेर बसेको समाज हो,” तीन आयोगका पदाधिकारीहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ ।
तर, केही समयदेखि तराई मधेसका केही स्थानमा धार्मिक सहिष्णुता खलल पार्ने क्रियाकलाप देखिएको भन्दै उनीहरूले सद्भाव कायम राख्न अपिल गरेका छन् ।
“तर, केही समययता तराई मधेसका केही स्थानहरूमा धार्मिक सहिष्णुतामा खलल पार्ने क्रियाकलाप देखिएकोले सबै धार्मिक सम्प्रदायबीच आपसी सद्भाव र मैत्री कायम गर्न सम्बद्ध सबैमा संयुक्त रूपमा हार्दिक अपील गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ ।
यसअघि गृह मन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै सामाजिक र धार्मिक सद्भाव कायम गर्न आग्रह गरेको थियो । समाजिक र धार्मिक सद्भाव विथोलिने कार्य गरे कानुनी कारबाहीको दायरामा ल्याइने चेतावनी मन्त्रालयले दिएको थियो ।
यता स्थानिय प्रशासनले जारी गरेको निषेधाज्ञाको उल्लंघन गर्दै प्रदर्शनकारी र प्रहरीबीच वीरगञ्जका विभिन्न स्थानमा झडप भएको छ ।
दुई समुदायबीचको विवादपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन प्रशासनले निषेधाज्ञा जारी गरे पनि सोमबार अलखिया चोक र लाठ गल्ली चोक लगायतका क्षेत्रमा तनाव उत्पन्न भएको हो।
प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्याँस प्रहार गरेको छ। सोही क्रममा एक युवक घाइते भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। यता, मुर्ली चोकमा निषेधाज्ञा उल्लंघन गरी प्रदर्शन गर्न खोज्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पत्रकारमाथि समेत आक्रमण र महासंघको आपत्ति
प्रदर्शनको दृश्य खिचिरहेको अवस्थामा ’भोजपुरी टाइम्स दैनिक’का कार्यकारी सम्पादक श्रवण साहमाथि प्रदर्शनकारीहरूले आक्रमण गरेका छन्। उनीहरूले साहको मोबाइल समेत खोसेको नेपाल पत्रकार महासंघ पर्सा शाखाले जनाएको छ।
महासंघका सचिव विजय कुमार महतोद्वारा जारी विज्ञप्तिमा समाचार संकलनमा खटिएका पत्रकारमाथि गरिएको यस कार्यलाई प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुन पाउने अधिकारको गम्भीर हनन भनिएको छ। महासंघले दोषीलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै सञ्चारकर्मीहरूलाई पनि संयमता अपनाउन अपिल गरेको छ।
सुरक्षा व्यवस्था कडा
विगत दुई दिनदेखि सामाजिक र धार्मिक सद्भावमा खलल पुग्ने गतिविधि बढेकाले वीरगञ्जका विभिन्न संवेदनशील क्षेत्रमा जनपथ र सशस्त्र प्रहरीको बाक्लो परिचालन गरिएको छ। यद्यपि, घण्टाघर चोक, माइस्थान र बसपार्क क्षेत्रको जनजीवन भने सामान्य रहेको छ।
प्रशासनले सर्वसाधारणलाई कुनै पनि प्रकारको अफवाहमा नलाग्न, शान्ति र संयमता कायम राख्न तथा सुरक्षाकर्मीलाई सहयोग गर्न विशेष आग्रह गरेको छ।