पोखरा, २० पुष २०८२।
नेकपा एमालेले कास्कीका तीनवटै निर्वाचन क्षेत्रबाट उम्मेदवारका आकांक्षीको नाम सिफारिस गरेको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्रको कमिटीले शनिबार बैठक बसेर नाम सिफारिस गरेको हो । सिफारिस हुनेमा हाल महानगरको बहालवाला वडा सदस्यदेखि निवर्तमान सांसदसमेत छन्।
कास्की क्षेत्र १ बाट निवर्तमान सांसद मनबहादुर गुरुङसहित ८ जना सिफारिस भए । पार्टीका जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षत्री, दिलीप न्यौपाने, पुष्पज्योति ढुंगाना, टीकाराम पंगेनी, पदमप्रसाद पौडेल, बालासिंह काउचा मगर र नारायणी भट्टराईको नाम सिफारिस भएको हो ।
यसैगरी, कास्की क्षेत्र २ बाट पोखरा वडा–२१ का वडा सदस्य तथा पोखरा महानगरका सार्वजनिक लेखा समिति संयोजक झपट रानाभाटसहित ११ जना सिफारिस भए । केन्द्रीय सदस्य कृष्णबहादुर थापा, प्रभा कोइराला, रश्मी आचार्य, मीना गुरुङ, सञ्जीवबहादुर कोइराला, तेजनारायण अधिकारीको नाम सिफारिस भएको छ । यस्तै, केशव आचार्य, भेषराज बराल, बलराम आचार्य र रामप्रसाद सुवेदी पनि सिफारिस भएको छ ।
उता, कास्की क्षेत्र ३ बाट पनि निवर्तमान सांसद दामोदर बैरागीसहित १३ जना सिफारिस भएका छन् । देवीप्रसाद सुवेदी, माधव बास्तोला, लक्ष्मण बराल, भोजकुमारी थापा, नन्दलाल अधिकारी, जगतबहादुर विश्वकर्मा, धनबहादुर नेपाली, राजीव पहारी, कर्णबहादुर गुरुङ सिफारिस भए । सूर्य खड्का बिखर्ची, डिबी नेपाली र ओमप्रसाद सुवेदी पनि सिफारिस भएका हुन् ।

कास्कीका ३ क्षेत्रमा उम्मेदवारको आकांक्षा राख्ने ३२ जनामध्ये अधिक ५० वर्ष कटेका छन् । ४० वर्षमुनिका आकांक्षी देखिएनन् । कमिटीहरुले उम्मेद्वार बन्न इच्छुकको नामावली संकलन गरेको एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षत्रीले जानकारी दिए । एमालेको केन्द्रीय कमिटीले प्रत्यक्षतर्फको निर्वाचनका लागि सम्भावित उम्मेद्वारको नाम सिफारिस गर्न मातहतका कमिटीलाई परिपत्र गरेको थियो । सोही अनुरुप एमालेका निर्वाचन क्षेत्र समन्वय कमिटीले उम्मेद्वार छान्न आन्तरिक तयारी गरेका हुन् ।
हरेक निर्वाचन क्षेत्र समन्वय कमिटीबाट सिफारिस भएर आएका नामावली हेरेर आवश्यक परेमा रायसहित जिल्ला कमिटी कास्कीले पुस २२ गतेभित्र गण्डकी प्रदेश कमिटी पठाउने अध्यक्ष अधिकारीले बताए । पार्टीको गण्डकी प्रदेश कमिटीले आगामी पुस २४ गतेसम्ममा आवश्यक भएमा रायसहित केन्द्रमा नाम पठाउनेछ । हरेक निर्वाचन क्षेत्रले सिफारिस गरेका उम्मेद्वारको अन्तिम निर्णय केन्द्रीय कमिटीले गर्ने व्यवस्था छ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको निर्वाचनको प्रत्यक्षतर्फ आगामी माघ ६ गतेसम्म उम्मेद्वारी दर्ताको कार्यसूची प्रकाशन गरेको छ ।