काठमाडौँ, १९ पुष २०८२।
सर्लाहीमा सागरनाथ वन परियोजनाका चौकीदारको हत्या भएको छ ।
शनिबार साँझ परियोजनाका चौकीदारको परियोजनाका चौकीदार ईश्वरपुर नगरपालिका–२ निवासी रामेश्वर महतोको हत्या भएको सर्लाही प्रहरी प्रवक्ता सरोज राईले जानकारी दिए । उनका अनुसार टाउको छिनाएको अवस्थामा चौकीदार महतोको शव फेला परेको छ, घटनास्थलमा बन्चरो पनि भेटिएको छ । घटनाको सूक्ष्म अनुसन्धान थालिएको सर्लाही प्रहरीले जनाएको छ ।
चौकीदार महतोको शव शंकास्पद अवस्थामा भेटिएकोले थप अनुसन्धानका लागि प्रदेश प्रहरीले स्पेसल कुकुर पनि घटनास्थलमा पठाएको प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले बताए ।
काटिएको टाउको अझै फेला पर्न नसकेको प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । उनले मृतकको टाउको खोज्ने प्रयासमा प्रहरी लागेको बताए ।
घरबाट करिब ५ सय मिटर टाढा जङ्गलमा महतोको टाउकोबिनाको शव फेला परेको स्थानीयले जनाएका छन् । शनिबार बिहान जङ्गलमा रुख काटेको आवाज सुनेर त्यसतर्फ गएका महतो दिउँसोसम्म घर नफर्किएपछि खोजी गर्दा शव भेटिएको हो।