पोखरा, १७ पुष २०८२।
सुनसरीको सीमावर्ती क्षेत्र कोशी गाउँपालिकामा सशस्त्र प्रहरी बल (एपीएफ)का जवानले हानेको गोली लागेर एक जना सिटी सफारी चालकको मृत्यु भएको छ।

तस्करी नियन्त्रणमा खटिएको सशस्त्र प्रहरीको टोलीले बुधबार मध्यराति राति करिब १:१० बजे चलाएको गोली लागेर कोशी गाउँपालिका-१, पुरी टोलका सिटी सफारी चालक ४५ वर्षीय विजय साहको मृत्यु भएको हो।
प्राप्त जानकारी अनुसार , भारतबाट सिटी सफारीमा ८-१० बोरा चिनी लिएर आउँदै गरेका साहमाथि सशस्त्र प्रहरीले गोली प्रहार गरेको थियो । गोली लागेर ढलेका साहको मृत्यु भएपछि आक्रोशित स्थानीय बासिन्दाले घटनास्थलमा प्रदर्शन गरिरहेका छन् । उनीहरूले घटना शंकास्पद रहेको र प्रहरीले नियोजित रूपमा गोली चलाएको भन्दै शव उठाउन दिएका छैनन् ।

घटनाको प्रकृतिलाई लिएर प्रहरी र स्थानीयको भनाइ बाझिएको छ । सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी कुमार न्यौपानेले तस्करको समूहले पहिले आक्रमण गरेपछि आत्मरक्षाका लागि ‘जवाफी फायरिङ’ गर्नुपरेको दाबी गरेका छन् । ‘चोरी पैठारीको सामान रोक्न खोज्दा तस्कर समूहबाट गोली चल्यो, त्यसको प्रतिवाद गर्दा घटना भएको हो,’ न्यौपानेले भने ।

यता, स्थानीय बासिन्दाले भने यो दाबीलाई अस्वीकार गरेका छन् । मृतक साहले सामान्य रुपमा सिटी सफारीमा चिनी ओसारिरहेको र सशस्त्र प्रहरीसँग ‘लेनदेन’ को विषयमा विवाद हुँदा गोली हानिएको उनीहरूको आरोप छ । सामान्य विवादमै मान्छे मार्ने काम भएको भन्दै उनीहरूले दोषीमाथि कारबाहीको माग गरेका छन् ।
