लिचिघारी काण्ड : पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा राख्न आदेश

लिचिघारी काण्ड : पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा राख्न आदेश


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १६ पुष २०८२
  • 4.3K
    Shares

पोखरा , १६ पुष २०८२।

विशेष अदालतले पोखराको लिचिघारी काण्डमा संलग्न रही घुस लिएको आरोप लागेका पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा राख्न आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलाशले उक्त काण्डमा संलग्न गुप्तालाई थुनामा पठाउन आदेश दिएको हो हो ।

गुप्ता आज उक्त काण्डमा आफ्नो बयान दिएका थिए। बयानपछि थुनछेक बहस उनलाई थुनामा पथाउन आदेश दिएको हो।

चर्चित लिचिघारी काण्डमा बिशेष अदालतले गरेको आदेश

यसअघि विशेष अदालतमा दायर मुद्दामा गुप्तामाथि घरजग्गा व्यवसायीहरूबाट सरुवा रोकिदिने र भूमि आयोगको सदस्य बनाउन भन्दै ५३ लाख रुपैयाँ घुस असुल गरेको गम्भीर आरोप लगाइएको थियो । यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अडियो, बैंक कारोबार विवरण, र डिजिटल फरेन्सिक परीक्षणको प्रमाणसहित गत असोज २२ गते गुप्तासहित सात जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

मुद्दामा पूर्व मन्त्री रञ्जिता श्रेष्ठ पनि प्रतिवादी बनेकी छन् । उनीहरूले पदको दुरुपयोग गर्दै मिलेमतोमा २५ लाख रुपैयाँ घुस लिएको अभियोग लेखिएको छ ।

दुई जनाबीचको घुससम्बन्धी अडियो सार्वजनिक भएपछि यो प्रकरणलाई राष्ट्रिय स्तरमा ध्यानाकर्षण भएको थियो । अडियोमा बिचौलियाले गुप्तालाई लक्षित गर्दै  “पोखराको जग्गाले तपाईंलाई टुलुटुलु हेरेर बसेको छ, अहिले २५ (लाख) राख्नुस्, काम बनेपछि माझीकुनामा माछा खाउँला…” भनेका थिए । डिजिटल फरेन्सिक परीक्षणले अडियोमा आवाज मिलेको पुष्टि गरेपछि अख्तियारले मुद्दा दायर गरेको थियो ।

गुप्ता यसअघि केपी अाेलीकाे पक्षमा प्रभावशाली मानिँदै आएका थिए । उनीविरुद्ध थुनछेक बहसमा अभियोजन पक्षले अनुसन्धानमा सहयोग नभएको तथा प्रमाण नष्ट गर्ने सम्भावना रहेको तर्क गरेको थियो । यस घटनाले राजनीतिक क्षेत्रमा भइरहेका भ्रष्ट कार्यविधि र बिचौलिया सक्रियताको गम्भीर प्रश्न उठाएको छ ।

पुर्व मन्त्री राजकुमार गुप्ता र पूर्वमन्त्री रञ्जिता श्रेष्ठविरुद्ध अख्तियारले ७८ लाख बिगो मागदाबी गरेको थियाे । त्यस्तै, यस प्रकरणमा मुछिएकाहरू अन्य रामचन्द्र अधिकारी, याम कुमारी गुरुङ, तुल्सीराम बुढामगर र खमबहादुर पुनविरुद्ध पनि मुद्दा दायर गरेको हाे । अधिकारीविरुद्ध ५३ लाख, गुरुङविरुद्ध २५ लाख, बुढामगरविरुद्ध ७८ लाख र पुनविरुद्ध २५ लाख बिगो मागदाबी गरिएको छ ।

सस्तो लोकप्रियताका लागि मन्त्री गुप्ताको झुठमाथि झुठो अभिव्यक्ति, देश छाड्ने देखि टुडिखेलमा झुण्डीने सम्मको ब्यान दिएका थिए । पूर्वमन्त्री राजकुमार गुप्ताले केहि महिना अगाडि प्राइम टेलिभिजनको ‘धमलाको हमला’ कार्यक्रममा खुलेर भनेका थिए उनले “यदि अडियो सक्कली हो भनेर प्रमाणित भयो भने म टुँडिखेलमै झुण्डिन्छु, म नागरिकता त्याग्छु, त्यतिमात्र नभइ म देशै छाड्छु ।” भनेका थिए ।  

विधि विज्ञान प्रयोगशालाले यसअघि नै उनको अडियो नक्कली नभई वास्तविक भएको पुष्टि गरिसकेको छ । अहिले अडियो प्रमाणित भइसकेको छ । विशेष अदालतमा मुद्दा समेत दायर भइसकेको छ, गुप्ताको आफ्नै शब्दअनुसार उनी टुँडिखेलमा झुन्डिने हुन, देश छाड्ने हुन या नागरिकता त्याग्ने हुन मन्त्री गुप्तालाइ बाध्यात्मक परिस्थिति सिर्जना भएको छ । यद्यपि, उनी यस विषयमा के गर्छन् उनका नजिकका नेता कार्यकर्ताले समेत भन्न सकेका छैनन् । 

यस्तो थियो अडियो घुस प्रकरण ।

२०८२ असार २८ मा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको ५३ लाख रुपैयाँ घुस लिएको अडियो सार्वजनिक भएको थियो ।

कास्कीस्थित मालपोत कार्यालय प्रमुखको सरुवा गरिदिन र अनुकुलको व्यक्ति व्यवस्थापन गरिदिने आश्वासन सहित उनले त्यो रकम लिएका थिए । अदालतको फैसला अनुसार, जग्गा दर्ता गरिदिनुपर्ने र त्यसका लागि अनुकुलको व्यक्तिलाई मालपोत प्रमुख बनाइदिने आश्वासनमा घुस लिएको अडियो सार्वजनिक भएपछि मन्त्री गुप्ताले राजीनामा दिए । घटना सार्वजनिक हुँदै जाँदा त्यही कामका लागि भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले पनि पोखराका सुजन लामासँग घुस लिएको विवरण सार्वजनिक भयो ।

उनीभन्दा अघिकी मन्त्री एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पनि पटकपटक रकम लिएको खुल्यो । उनले म्यासेज गरेरै ‘मलाई क्यास चाहियो, ड्राइभर पठाइदिन्छु’ भनेका विवरणहरु अख्तियारमा पेश भएको थियो । त्यतिमात्रै होइन, तत्कालिन सचिव अर्जुन पोखरेलले समेत रकम लिएको, पोखराबाट नै कालिज मगाएको विवरणहरु सार्वजनिक भएको थियो ।

जग्गा दर्ताको प्रयासमा लागेकाहरु तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीलाई मालपोत कार्यालय कास्कीमा लैजान चाहन्थे भने अहिले जग्गाधनी पूर्जा बोकेका कतिपय व्यक्तिहरुले प्रमुख मालपोत अधिकृत चिरञ्जिवी पौडेललाई नै यथावत राख्न चाहन्थे । त्यसक्रममा भएको ‘डिल’ र घुस लेनदेनका संवादहरु गत साउनमा एकपछि अर्को गर्दै श्रृङखलाबद्ध रुपमा सार्वजनिक भएको थियो ।

त्यो प्रकरणमा भूमी व्यवस्थामन्त्री बलराम अधिकारी पनि मुछिएका थिए । पोखराका सुजन लामाले मन्त्रीका छोरा मनोजलाई ३२ लाख रुपैयाँ बुझाएको, भाइ शालिकरामको खातामा ५ लाख डिपोजिट गरिदिएको विवरण नै सार्वजनिक भएको थियो । पोखरामा मालपोतका कर्मचारीहरुले ‘(अश्लिल शब्द)‘।लाई ७० लाख रुपैयाँ दिएर चिरञ्जिवी पौडेललाई मालपोतमा थमौती गरिदिएको भन्ने अडियो समेत सार्वजनिक भएको थियो ।

तत्कालीन मन्त्री गुप्ताले अडियोमा उनले भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय कास्कीको तत्कालीन प्रमुखको सरूवा रोक्न ५३ लाख घुस लेनदेनसम्बन्धी ’डिल गरेको’ स्पष्ट थियो । भाइरल बनेको अडियोको कारण चौतर्फी आलोचना भएपछि उनले असार ३१ गते मन्त्री पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया