कांग्रेस र एमालेका यी पदाधिकारीले चुनाव लड्न नपाउने

कांग्रेस र एमालेका यी पदाधिकारीले चुनाव लड्न नपाउने


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १६ पुष २०८२
  • 4K
    Shares

पोखरा , १६ पुष २०८२।

 आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेस र एमालेका केही पदाधिकारी नै चुनाव लड्न नपाउने भएका छन्।

तोकिएको समयमा खर्च विवरण बुझाई सार्वजनिक नगरेकाकारण निर्वाचन आयोगको कालोसूचीमा राखेका कांग्रेस र एमालेका केही पदाधिकारी नै चुनाव लड्न नपाउने भएका हुन्।

निर्वाचन आयोगको कालोसूचीमा कांग्रेस महामन्त्री गगनकुमार थापा, नेकपा एमालेका सचिवद्वय डा. राजन भट्टराई र शेरधन राई आयोगको ‘ब्ल्याक लिस्ट’मा परेका हुन्।

गत २०७९ सालको निर्वाचनमा काठमाडौं-४ मा कांग्रेसबाट थापा र एमालेबाट भट्टराई उम्मेदवार थिए। निर्वाचनमा भट्टराईलाई थापाले भारी मतान्तरले पराजित गरेका थिए।

यसैगरी भोजपुर -१ बाट शेरधन राईले निर्वाचन लडेका थिए। राईलाई भोजपुरबाट माओवादी केन्द्रका सुदन किरातीले पराजित गरेका थिए। उनीहरुले तोकिएको समयमा खर्च विवरण बुझाई सार्वजनिक नगरेपछि आयोगले १५/१५ हजार जरिवानासमेत गरेको छ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार विगतका निर्वाचनमा उम्मेदवार भएर तोकिएको समयभित्र निर्वाचन खर्च विवरण आयोगमा नबुझाउने र मतदातामाझ सार्वजनिक नगर्ने दुवै खाले उम्मेदवार आयोगको ‘ब्ल्याक लिस्ट’ मा रहेको जानकारी दिए।

प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा उम्मेदवार भएर निर्वाचन खर्च नबुझाउने र बुझाएर पनि सार्वजनिक नगर्ने १ हजार ८० जना उम्मेदवार निर्वाचन आयोगको कालोसूचीमा परेका छन्। ‘कानुनअनुसार आयोगले गरेको निर्णय नमान्ने त्यस्ता व्यक्ति फागुन २१ को चुनावमा उम्मेदवार हुन पाउँदैनन्,’ भण्डारीले भने, ‘विगतका निर्वाचनमा उम्मेदवार भएका सबै व्यक्तिको विवरण हामीसँग छ। फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिने सबैको नाम कम्प्युटर प्रणालीमार्फत भिडाएर जाँच हुन्छ। यदि अघिल्लो चुनावमा खर्च विवरण नबुझाएको वा सार्वजनिक नगरेको पाइयो भने उम्मेदवारी नै अस्वीकार हुन्छ।’-सुदर्शन खबर

प्रतिक्रिया