पोखरा, १५ पुष २०८२।
प्रधानमन्त्री सुशीला कार्कीले आज एकाबिहानै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईंलाई भगवान बुद्धको चित्र उपहार दिएका छन्। मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री कार्कीले प्रसाईंलाई शान्तिको प्रतीक भगवान् गौतम बुद्धको चित्र उपहार दिएकी हुन् ।
यसअघि गएको मंसिर २२ गते सिंहदरबारमा भएको भेटमा प्रसाईंले प्रधानमन्त्रीलाई उपहारस्वरूप भगवती दुर्गाको मूर्ति प्रदान गरेका थिए । सोही भेटको सन्दर्भ जोड्दै आजको भेटमा प्रधानमन्त्री कार्कीले बुद्धको चित्र उपहार दिएकी हुन् ।
आजको भेटमा प्रधानमन्त्री कार्कीले मुलुकमा शान्ति र अमनचैन कायम राख्दै दिगो लोकतन्त्र स्थापना गर्ने एक मात्र माध्यम निर्वाचन रहेको बताइन् । उनले असन्तुष्टि र मागहरू शान्तिपूर्ण माध्यमबाट राख्न र जनतामै गएर आफ्ना मुद्दा अनुमोदन गराउन प्रसाईंलाई आग्रह गरिन् ।
मुलुक अब अस्थिरता र अशान्ति थेग्न नसक्ने अवस्थामा पुगेको उल्लेख गर्दै प्रधानमन्त्रीले सबै पक्षबाट जिम्मेवार भूमिका अपेक्षित रहेको बताइन् । नेपाललाई हिन्दुराष्ट्र बनाउनुपर्ने माग अघि सार्दै आएका प्रसाईंलाई निर्वाचनमार्फत जनमत लिनु नै लोकतान्त्रिक निकासको उपाय भएको उनको भनाइ थियो ।