पोखरा , १५ पुष २०८२।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकीकरण गरेसँगै उज्यालो नेपाल पार्टीबाट केन्द्रीय कमिटि र प्रतिनिधि सभाको उम्मेदवारमा पनि सिट बाँडफाँड सहमती भएको छ।
उज्यालो नेपाल पार्टीले रास्वपाको केन्द्रीय कमिटिमा वरिष्ठ उपसभापतिसहित महामन्त्री र ३० प्रतिशत हिस्सा पाउने कुलमानका विश्वासपात्र गणेश घिसिङले जानकारी दिए। वरिष्ठ उपसभापतिमा कुलमान आफै जाने भए पनि महामन्त्री कसलाई पठाउने भन्ने पार्टीले निर्णय गर्ने उनको भनाई छ।
अहिले रास्वपामा दुई उपसभापति डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले छन्। सोमबार भएको सहमती अनुसार रास्वपाका दस्ताबेज निर्वाचन आयोगमा अद्यावधिक गरिने भएको छ। पार्टीको नाम, दलको झण्डा र चुनाव चिन्ह रास्वपाकै रहनेछ।
यो सहमतीपछि अर्याल चौथो र वाग्ले पाँचौँ वरियतामा पुगेका छन्।

यसअघि नै बालेनलाई संसदीय दलको नेता र भावि प्रधानमन्त्रीमा अगाडि सार्ने सहमती भइसकेको छ। उनको वरियता कुलमान घिसिङपछिको हुनेछ।
यस्तै फागुन २१ गतेको निर्वाचनमा प्रत्येक्षतर्फ ३० र समानुपातिकतर्फ २० प्रतिशत उम्मेदवार उज्यालो नेपालबाट बनाउने सहमती भएको घिसिङको दाबी छ।
यो सहमती अनुसार अब रास्वपाबाट तीन पक्षलाई समेटेर समानुपातिकको बन्द सूची आयोगमा बुझाइने भएको छ। रास्वपा, उज्यालो नेपाल र बालेन पक्षलाई समेटेर समानुपातिक सूची एउटै बुझाइने भएको हो।
सोमबार रास्वपा र उज्यालो नेपालले छुट्टा छुट्टै सूची बुझाउने तयारी गरेका थिए। तर अन्तिम समयमा तीन शीर्ष नेताहरु रवि, बालेन र कुलमान बार्तामा जुटेका थिए। सोही वार्ताले ७ बुँदै सहमती जुटाएको हो।
सहमती पत्रमा रास्वपाका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले बालेन्द्र शाहलाई साक्षी राखेर हस्ताक्षर गरेका छन्।