मोरङमा एम्बुलेन्समा गाँजा तस्करी : हवाई फायर गरेर दुई जना पक्राउ, करीब चारसय ८० किलो गाँजा बरामद

मोरङमा एम्बुलेन्समा गाँजा तस्करी : हवाई फायर गरेर दुई जना पक्राउ, करीब चारसय ८० किलो गाँजा बरामद


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १४ पुष २०८२
  • 5.9K
    Shares

गाँजा बोकेको एम्बुलेन्स

पोखरा , १४ पुष २०८२।

मोरङमा प्रहरीले गोली चलाएर गाँजा बोकेको एम्बुलेन्ससहित दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्लाको केराबारी गाउँपालिका–५ लाफा टोलमा आइतबार राति ११ बजेतिर गोली चलाएर गाँजा बोकेको एम्बुलेन्ससहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

धनकुटाबाट मोरङ हुँदै भारततर्फ गाँजा तस्करी गरिएको प्रदेश १–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्ससहित दुई जनालाई नियन्त्रित लागू औषध गाँजाको साथमा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरिक्षक राजीव गिरी र इलाका प्रहरी कार्यालय केराबारीबाट प्रहरी सहायक निरिक्षक फजिन्द्र तोलाङ्गीको नेतृत्वमा गएको संयुक्त प्रहरी टोलीले एम्बुलेन्स चालक धनकुटाको सहिदभूमि गाउँपालिका–६ का ३५ वर्षीय निश्चल राई र एम्बुलेन्समै सवार साँगुरीगढी गाउँपालिका–२ का २० वर्षीय खगेन्द्र लिम्बूलाई पक्राउ गरिएको जानकारी मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले दिए । एम्बुलेन्समा लुकाइछिपाइ ल्याएको १६ पोका अन्दाजी ४ सय ८० किलोभन्दा बढी गाँजा पनि बरामद भएको प्रहरीले बताएको छ।

केराबारीमा प्रहरीले उक्त एम्बुलेन्स रोक्न खोज्दा भाग्न खोजे पछि एक राउण्ड हवाई फायर गरेर उनीहरुलाई पक्राउ गरिएको प्रहरीको दाबी छ ।

नियन्त्रणमा लिइएको एम्बुलेन्स धनकुटाको सहिदभूमि गाउँपालिका–१ खाल्सा–छिन्ताङस्थित सूर्यबहादुर थापा प्रतिष्ठानको नाममा दर्ता भई सञ्चालनमा रहेको पाइएको छ।
बरामद गाँजा, एम्बुलेन्स र पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको छ। उनीहरूविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ। बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ।

एम्बुलेन्सजस्तो आपतकालीन र संवेदनशील सेवाको साधनलाई लागुऔषध तस्करीमा प्रयोग गर्नु गम्भीर अपराध भएको उल्लेख गर्दै एसपी कटवालले यसले गाँजा ओसारपसार गर्ने गिरोह संगठित रूपमा सक्रिय रहेको संकेत गर्ने बताए। उनले लागुऔषध ओसारपसार, एम्बुलेन्सको दुरुपयोग र यसमा संलग्न नेटवर्क पत्ता लगाउन विस्तृतमा अनुसन्धान भइरहेको जानकारी दिए।

प्रतिक्रिया